गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २६ गते । इराकमा क्लोरिन ग्यास चुहिँदा छ सयभन्दा बढी तीर्थयात्री बिरामी परेका छन् । करबलामा सो घटना भएको हो । क्लोरिन ग्यासले श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् ।
इराकको मध्य र दक्षिणमा अवस्थित दुई सिया पवित्र सहर नजफ र करबलाबिचको मार्गमा रातभरि यो घटना भएको एएफपीले आइतबार जनाएको छ ।
यस वर्ष लाखौँ सिया मुस्लिम तीर्थयात्री करबलामा जाने अपेक्षा गरिएको छ । त्यहाँ पूजनीय इमाम हुसेन र उनका भाइ अब्बासका मस्जिद छन् । त्यहाँ उनीहरूले ४० दिनको शोक अरबाइन मनाउने छन् । यसमा सियाहरूले पैगम्बर मोहम्मदका नाति हुसेनको मृत्युको पनि सम्झना गर्छन् ।
इराकको स्वास्थ्य मन्त्रालयले करबलामा क्लोरिन ग्यास चुहावटपछि श्वासप्रश्वासका ६२१ वटा घटना दर्ता भएको बताएको छ । यसैबिच तीर्थयात्रीको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बलले करबला–नजफ सडकमा रहेको पानी प्रशोधन केन्द्रबाट क्लोरिन चुहावट हुँदा उक्त घटना भएको बताएको छ ।
दशकौँको द्वन्द्व र भ्रष्टाचारका कारण इराकका धेरै पूर्वाधार जीर्ण छन् । सुरक्षा मापदण्डको पालना प्रायः शिथिल रहेको छ ।