झापा, साउन २४ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
काँकडभिट्टा खेलमैदानको आज निरीक्षण गर्दै उहाँले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने भनाइ राख्नुभयो ।
मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा रुपियाँ तीन करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
“क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्”, उहाँले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, “दुई ठूला देशको बीचमा छौँ हामी ।
एसियाली राजमार्ग निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तरराष्ट्रिय रुपमा बढेर जानेछ ।” उहाँले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
सरकारले खेलकुद क्षेत्रका लागि अहिले रुपियाँ छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उहाँले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताउनुभयो ।
त्यस अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्वनगरप्रमुख विमल आचार्यलगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो ।
मन्त्री चौधरीले आज मेचीनगरको चारआलीमा आयोजना हुने इन्डो–नेपाल इन्टरस्कुल कराते प्रतियोगिताको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । रासस