• २४ साउन २०८२, शनिबार

चुरे क्षेत्रमा स्थलगत अनुगमन

blog

खेर गइरहेको पानीलाई सदुपयोगमा ल्याउन चुरेक्षेत्रमा स्थलगत अनुगमन गर्दै टोली । तस्बिर : विजयकुमार साह

ढल्केबर समाचारदाता 

ढल्केबर, साउन २४ गते । धनुषाको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसहितको टोलीले शुक्रबार पानीको स्रोत चुरे तथा भाँवर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । चुरे र भाँवर क्षेत्रमा भएका खोला तथा मुहानबाट बगेर खेर गइरहेको पानीलाई सिँचाइ तथा खानेपानीका लागि प्रयोगमा ल्याउन स्थलगत अवलोकन गरिएको हो । 

नगरप्रमुख महतोले भूमिगत पानीको दोहन कम गर्न र चुरे क्षेत्रबाट बगेर खेर गइरहेको पानीलाई सदुपयोगमा ल्याउन औरहीखोलाको मुहानको स्थलगत अवलोकन गरिएको बताउनुभयो । उहाँले खेर गइरहेको पानीलाई सिँचाइ र खानेपानीका लागि प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “औरहीखोलामा प्रशस्त पानी छ । उक्त पानी बगेर त्यसै खेर गइरहेको छ । यदि औरहीखोलाको पानी पाँच सय मिटर पश्चिममा रहेको खहरेखोला बसहीमा झार्न सकियो भने सिँचाइका लागि पानीको उपलब्धता बढ्छ । औरहीखोलामा ठाउँ ठाउँमा ड्याम निर्माण गरेर खानेपानीका लागि पानी प्रयोगमा ल्याउन सकिन्छ ।” उहाँले अध्ययनका लागि प्राविधिक र विज्ञ टोली पठाउने बताउनुभयो । 

नगरप्रमुख महतोले मिथिला नगरपालिका भएर बग्ने औरही नदीलगायतका नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सकियो भने बटेश्वर, छीरेश्वर, लक्ष्मीनियाँ र जनकपुरधामलगायत तल्लोतटीय क्षेत्रको धेरै जसो स्थानको भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो । उहाँले यसका लागि तल्लो क्षेत्रका स्थानीय तहले पनि आर्थिक लगानी लगाउनुपर्ने उहाँका भनाइ छ । उहाँले भन्नुभयो, “चुरे विद्हरूका अनुसार चुरेको पानी चुरे क्षेत्रमा रोक्न सकियो भने जमिनमुनि पानीको पुनर्भरण हुन्छ । त्यसले तल्लो क्षेत्रमा भूजलको सतहमाथि आउँछ र अहिले देखिएको पानीको सङ्कट समाधान हुन्छ ।” 

प्राविधिक रामविरोध महतोका अनुसार चुरे तथा भाँवर क्षेत्रका खोलामा पानी रोक्न सकिने संरचना निर्माण गर्न सके जमिनमुनि पानीको भण्डारण बढ्छ । जसले गर्दा चापाकल र इनार सुक्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न मद्दत पु¥याउँछ । औरही खोलामा यसअघि पनि यस्तो सम्भावनाको अध्ययन भएको उहाँले बताउनुभयो । 

प्राविधिक महतोले अव्यवस्थित सहरीकरण र वन फँडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसक्नुका कारण भूमिगत पानीको सतह तल हुँदै गएको बताउनुभयो । तराईका जिल्लामा पहिलाभन्दा दोब्बर तेब्बर गहिराइमा पाइप गाड्दा मात्रै चापाकलमा पानी आउने गरेको छ । त्यसैले तिनै तहका सरकार समयमै यसप्रति आवश्यक कदम चालेन भने भविष्यमा तराईमा पानीको चरम अभाव हुन्छ, उहाँको भनाइ छ ।