काठमाडौँ, साउन २० गते । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, सिमलताल र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीमा विपद् इलेक्ट्रिक डिभाइस जडान गरिएको छ ।
बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाइस जडान गरिएको हो । दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने छ ।
कुनै पनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि उक्त स्थानमा रहेका स्थानीय वासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्ने छ भने मोनिटरमा लोकेसनसहितको जानकारी समेत हेर्न सकिने छ ।
यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानका बारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुने छ । सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दाहरूलाई जानकारी गराउनुको साथै प्रशिक्षण समेत दिएको छ ।
त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका व्यक्ति र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्ने छन् ।
एप्सभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेको चार वटा अप्सन एम्बुलेन्स, बाढि पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिने छ, त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने छ । सो एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिने छ ।
नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोबाइल एप्सले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारका लागि सहजताका साथै आम नागरिकहरूको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको छ ।