बोमलाल गिरी
नवलपुर, साउन २० गते । लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ। सोमबार बिहान साढे ७ बजेदेखि चिप्लो भएर गाडी गुड्न नसकी एकतर्फी भएको राजमार्ग दिउँसो १ बजेदेखि पहिरो खसेका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो ।
हिजो सोमबारको तुलनामा मङ्गलबार सडक झन बिग्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले जानकारी दिनुभयो । उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२, विश्वकर्मा मन्दिर नजिकै बाटो अवरुद्ध भएको हो ।
तीन दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेग्रान बगाएर खाल्टाखुल्टी भएकाले गाडीहरू गुड्न नसकेका हुन् । बन्जाराले उकालोमा सवारी साधनहरू बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लागेको छ ।
दाउन्नेमा बाटो बिग्रिएपछि सवारी साधनलाई अहिले दुम्किबास र बर्दघाटमा रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ । नवलपुर क्षेत्रमा तीन दिनदेखि लगातार पानी परिरहेको छ । प्रहरीले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा पनि बाटो हिलो हुने र घाम लाग्दा धुलाम्य हुने समस्या छ।
१४ किलोमिटर सडक खण्ड मध्ये पश्चिमतर्फ तीन किलोमिटर बाटो कालोपत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब दुई किलोमिटर सडक एकतर्फी ढलान भएको छ । अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा समस्या देखिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो।
यहाँ कल्भर्ड निर्माणको काम नसकिएका कारण बाटो एकतर्फी मात्र रहेको छ भने कतिपय ठाउँमा ढालनको काम भइरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि ४ ठाउँमा सडक एकतर्फी रहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो।