• १९ साउन २०८२, सोमबार

किसानको पीडा : अन्नबाली बाँदर र बँदेलले सके, पशुचौपाय चितुवाले

blog

इस्मा गाउँपालिका–४ दोहलीमा बंदेलले मकै नष्ट गर्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन १८ गते ।
गत साउन १२ गते धुर्कोट गाउँपालिका–४ जैसिथोकमा दिनदाहडै चितुवाले चार वटा बाख्रा मा¥यो । गोपेकी तिल कुमारी खत्री गौतमका तीन र दुर्गा खत्री गौतमका एक गरेर चार बाख्रा देउराली सामुदायिक वनमा चितुवाले मारेपछि स्थानीयलाई वस्तुभाउ लिएर जान त्रास भएको छ ।

तिल कुमारीका श्रीमान वितेका १७ वर्ष भए । कमाईको उपाय नभएपछि करिव एक लाख खर्च गरेर बाख्रा खरिद र खोर निर्माण गर्नुभएको थियो । तर चितुवाले एउटा ब्याउने बाख्रा र एक/एक पाठा र पाठी मार्दियो । तिल कुमारीले भन्नुभयो, “गरिखाने मान्छेको खोर रित्तो बन्यो, गाउँभर त्रास छ । वर्षभरी दुःख गर्‍यो वस्तुभाउ चितुवालाई मकै बाँदर र बंदेललाई ठिक्क छ ।”

केहि समय अगाडि इस्मा गाउँपालिका–१ का खेत बहादुर कुँवरनै चितुवाको आक्रमणबाट गम्भीर घाइते हुनुभयो । उहाँका एक दर्जनभन्दा बढी बाख्रा चितुवाले पटक–पटक गरेर मा¥यो । किसानलाई पीडामाथि पीडा छ । रोप्ने बेला मल छैन । उत्पादन गरेका सामग्री बिग्दैनन् । त्यो माथि मनसुन जन्यक्षति र बन्यजन्तुको चपेटामा पनि कृषक छन् ।

इस्मा, धुर्कोट, मदाने मालिका र मुसिकोटका कृषकको मकै बारी बंदेलले रित्तो बनाउने अवस्था छ । बाँदर र ढेडुवाले जिल्लाका सवै स्थानका किसान समस्या छन् । इस्मा गाउँपालिका–४ दोहलीका युवा कृषक ओम कुँवरले बदेलका कारण उर्वर जमिन बाँझो राख्ने अवस्था आएको गुनासो गर्नुभयो । बिउ छरेबाट रातभर जाग्राम बस्दा समेत जोगाउन मुस्किल परेको कुँवरले बताउनुभयो ।

सरकारले किसानलाई राहत र क्षतिपूर्तिका लागि सोँचे अनुसारको केही गर्न सकेको छैन । बन्यजन्तुबाट पशुचौपाय र अन्नवालीमा जङ्गली जनावरले गरेको क्षतिको आधारमा राहतका लागि डिभिजन वन कार्यालयमा किसानले निवेदन र घटना मुचुल्लका बुझाउने गरेका छन् । तर दुई वर्षदेखि खाली हात घर फर्किनुपर्ने र उल्टै यातयात खर्च र सास्ती हुने गरेको रुरु क्षेत्र गाउँपालिका–५ बम्घाका किसान नारायण श्रेष्ठले गुनासो गर्नुभयो ।

गत वर्ष उहाँका माउ बाख्रो र बोका चितुवा घरमै आएर मार्‍यो । श्रेष्टले वन कार्यालय र पालिकामा राहतका लागि निवेदन दिनुभयो । धेरै पटक वन कार्यालय धाउँदा पनि रुप्पे नपाएको श्रेष्ठले बताउनुभयो । उहाँले गाउँपालिकाबाट १५ हजार रुपियाँ पाए पनि ४०/४५ हजार घाटा लागेको बताउनुभयो ।

गुल्मीमा पाँच वर्षमा ५१४ पशुचौपाय जङ्गली जनावरले मारेको छ । डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म बाख्रा ३२६, भैँसी ४६, गाई ११, भेडा सात र कुखुरा १२४ जङ्गली जनावरले क्षति गरेको छ ।

पाण्डेले पहिले निकुञ्जबाट राहत आउने गरेको भए पनि दुई आर्थिक वर्षबाट प्रदेश सरकारमार्फत राहत नआउँदा किसानलाई समस्या भएको बताउनुभयो । उहाँले अन्नबालीको क्षति तथा पशुचौपायको क्षतिको निवेदन र विवरण प्रदेशमा पठाएपनि कुनै विषयमा बजेट नआएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले वनबाट केही राहत आउने अवस्था आएपछि गाउँपालिकाले क्षतिपूर्ति दिन नसकेपनि थोरै–थोरै राहत दिँदै  आएको बताउनुभयो ।