बबई समाचारदाता
बबई (बर्दिया), साउन १८ गते । लुम्बिनी प्रदेशभित्र रहेका जिल्ला अस्पतालमध्ये मूल्याङ्कनमा सधैँ जसो प्रथम भइरहने बर्दिया अस्पतालमा बिरामीको चाप बढेसँगै भवनको अभावमा उपचारमा समेत समस्या देखिएको छ ।
बर्दिया अस्पतालमा उचित भवनको अभावमा अस्पतालमा आउने बिरामीको चाप बढेको समयमा उपचारमा समस्या हुँदा बिरामीलाई बाहिर बरन्डामा राखेर उपचार गर्ने गरिएको छ । ५० शय्या सञ्चालन भएको अस्पतालमा नियमानुसार १० प्रतिशत शय्या आकस्मिकका लागि छुट्याउनुपर्ने हुन्छ तर बर्दिया अस्पतालमा भने सञ्चालित सङ्ख्याभन्दा बढी आकस्मिकलाई छुट्याउँदा पनि बिरामीलाई बरन्डामा राखेर उपचार गर्नुपरेको हो ।
बर्दिया अस्पतालले आकस्मिकका लागि भनेर छ वटा शय्या छुटयाउँदासमेत बिरामीलाई राख्ने ठाउँको अभाव देखिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा बरन्डामा बसेर उपचार गराउनुपरेको राजापुर नगरपालिकाका स्थानीय बासिन्दा देवराज ढुङ्गानाले बताउनुभयो ।
विशेष गरी बर्खायाममा बिरामीको चाप बढ्ने हुँदा आकस्मिक भर्ना गरिएको भए पनि बिरामीको उपचार भने बरन्डामा राखेर गर्ने गरिन्छ । बर्सातको समयमा ज्वरो, रुखाखोकी, डेङ्गु, स्क्रब टाइफस र सर्पले टेकेका बिरामी अत्यधिक मात्रामा आउने गर्दछन् । यसरी बिरामी आउँदा अस्पताललाई सेवा प्रवाह गर्न स्थानको समेत अभाव भएको छ ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवास पाण्डेले बर्दिया अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा आकस्मिक कोठामा बिरामीलाई उपचार गर्न ठाउँ कम भएकाले बरन्डामा राखेर भए पनि उपचार गरिएको बताउनुभयो । अस्पतालले आकस्मिक सेवा सञ्चालनका लागि भवन निर्माण गर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको भए पनि अहिलेसम्म भवन निर्माणका लागि बजेट विनियोजन हुनसकेको छैन ।
आर्थिक वर्ष २०८२/८३ लागि प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट अस्पतालको भवन निर्माणका लागि अपुग हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र यादवले बताउनुभयो । बर्दिया अस्पतालमा बिरामीको उपचार गर्न जिल्लाभरका आठ स्थानीय तहबाट सेवाग्राही आउने गरेका छन् ।