• २१ साउन २०८२, बुधबार

‘खेलकुदलाई मार्ग निर्देश गर्ने राजनीतिले हो’

blog

राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य।

काठमाडौँ, साउन २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ध्रुव आचार्यले परिषद्को उपाध्यक्ष पद सम्हालेको सात महिना भयो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत रहनुभएका आचार्य खेलकुदमा परिचित नाम हो । एकेडेमीमार्फत खेलकुदको विभिन्न गतिविधिमा संलग्न बन्दै आउनुभएका आचार्यको कार्यक्षमता र जुझारुपनलाई देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेपको उपाध्यक्ष बनाउनुभएको हो । 

राजनीतिक टकरावले रुमल्लिएको नेपाली खेलकुदमा समन्वयकारी भूमिका खेलेर सबैलाई समेट्दै लैजानु अहिलेको आवश्यकता रहेको आचार्य बताउनुहुन्छ ।

‘‘खेलकुद मेरो लागि नौलो विषय होइन । मदन भण्डारी स्पोर्ट्स एकेडेमीमार्फत खेलकुदमा सक्दो योगदान गर्दै आएकाे थिएँ । राखेपको उपाध्यक्ष बन्दा झनै यसलाई नजिकबाट नियाल्ने र काम गर्ने मौका पाएको छु । नेपाली खेलकुदमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत र प्रतिष्ठा उच्च राख्न सकेको काम गर्नेछु,’’ उपाध्यक्ष आचार्यले भन्नुभयो । 

तर आचार्य राखेपको उपाध्यक्ष बन्दै गर्दा नेपाली खेलकुद फोहोरी राजनीतिको चपेटामा रुमल्लिएको छ । राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटिबिचको विवाद छताछुल्ल भएको छ ।

राष्ट्रिय खेलकुद सङ्घको विवाद झनै उत्कर्षमा छ । दुई दुई वर्षका आयोजना हुनुपर्ने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्दै आएको छ ।

अदालतमा पुगेको ओलम्पिक विवादका कारण जापानमा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको सहभागिता के होला ? भन्ने प्रश्न पनि उठेको छ । 

आचार्य भने समस्यासँगै समाधान आउने बताउनुहुन्छ । ‘‘राजनीति खेलकुद बिगार्नका लागि गरिनु हुन्न । तर खेलकुदका लागि गरिने सही राजनीतिले खेल क्षेत्रलाई अगाडि बढाउने हो । सदाबहार पदको लोभले पनि खेल पदाधिकारीलाई बिगारेको अवस्था छ । ओलम्पिक विवादको समाधान ओलम्पिक चाटर्डअनुसार हुनेछ । खेलाडीले खेल्ने वातावरण बनाउनुपर्छ । पदाधिकारीको राजनीति खेल सुधारका लागि हुनुपर्दछ । खेलकुदलाई मार्ग निर्देश गर्ने राजनीतिले हो ,’’ उपाध्यक्ष आचार्यले भन्नुभयो । 

राजनीतिक व्यक्तिको संलग्नता र इच्छाशक्तिले मात्र खेलकुदको विकास हुने दाबी पनि आचार्यको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चासोका कारण अहिले खेलकुदको भौतिक संरचना निर्माण, खेलाडीको पुरस्कार, खेलकुदमा आम सहभागिता जस्ता विषय अगाडि आएको आचार्यले बताउनुभयो । 

आचार्यका अनुसार खेलकुदमा अहिले उल्लेख्य मात्रामा बजेट वृद्धि भएको छ । देशभर भौतिक संरचना बनिरहेका छन् । खेलकुद विकासका लागि  फोहोरी राजनीति होइन, सही राजनीति आवश्यक छ । राजनीतिक दृष्टिकोणले नै यसलाई माथि लैजाने हो, आचार्य भन्नुहुन्छ । 

नेपाली खेलकुदको वर्तमान अवस्था र भावी योजनाबारे गोरखापत्र अनलाइनका लागि राखेप उपाध्यक्ष ध्रुव आचार्यसँग गरिएको भिडियो संवाद :

   भिडियो : मनोजरत्न शाही