• १० साउन २०८२, शनिबार

सल्यान दुर्घटना अपडेट : एक जनाको मुत्यु

blog

प्रतीक शर्मा इच्छुक

सल्यान, साउन ८ गते । सल्यानमा भएको फोर्स गाडी  (हाइस) दुर्घटनाका घाइते एक जनाको मुत्यु भएको छ ।  कुमाख गाउँपालिका २ सल्यानका का ७४ वर्षिय कलिभान रानाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्युभएको  हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसीले  दुर्घटनामा घाइते भएका अन्य  १४ जनाको  रुकुम चौरजहारीस्थित मिसशन हस्पीटल र  वाँके कोहलपुरमा उपचार भइरहेको बताउनुभयो ।  

‎‎दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइते हुनेमा गाडीचालक सल्यान, कुमाख गाउँपालिका–६ बस्ने अन्दाजी २७–२८ वर्षीय पारस आचार्य, ३६ वर्षीय भूपेन्द्र बस्नेतको टाउको र खुट्टामा तथा ६३ वर्षीय टिकाराम आचार्यको टाउको र छातीमा गम्भीर चोट लागेको छ । 

कुमाख गाउँपालिका–१ का १६ वर्षीय इन्द्र रावत, वडा नम्बर ४ का ५६ वर्षीय डोले बस्नेत र ३५ वर्षीया निर्मला बुढाथोकीको पनि टाउकोमा गम्भीर चोट लागेको छ । ‎दुर्घटनामा बालबालिका पनि गम्भीर घाइते भएका छन् । 

कुमाख–४ की १० वर्षीया जेनिशा रानाको टाउको र खुट्टामा तथा ७ वर्षीय महेन्द्र बस्नेतको टाउको र दुवै खुट्टामा चोट छ । यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनारको टाउको र दुवै खुट्टामा तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्दी विष्टको टाउको र दुवै हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दश जना गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

‎‎साथै, मध्यम घाइते भएका कुमाख गाउँपालिका–२ की ३२ वर्षीया दिपा बुढाथोकी र उहाँकी ६ वर्षीया छोरी कोपिला बुढाथोकीको दुवै खुट्टामा चोट लागेको छ । रुकुम पश्चिम चौरजाहारीकी ३१ वर्षीया कुन्ता विष्टको पनि दुवै खुट्टामा चोट लागेको छ र उनीहरूलाई पनि नेपालगन्ज नै पठाइएको छ ।

‎‎सामान्य घाइते भएका सल्यान, कुमाख गाउँपालिका–४ का २३ वर्षीय भुवन लामिछानेको शरीरको विभिन्न भागमा चोट लागेको र उहाँको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ । 

‎प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको  मिनि वस (हाईस) गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटना भएको थियो ।