चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ८ गते। ताप्लेजुङमा साउन महिनायता बाढीपहिरोले थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। प्राय, हरेक दिन वर्षा भइरहेको र वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति पुगेको हो।
निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएको बाढीपहिरोले सडक, पुल, मानिसको घर लगायतका संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन महिनापछि वर्षासँगै बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति गरेको छ।
मङ्गलबार राति मात्र भीषण वर्षासँगै बाढीपहिरो जाँदा फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा विभिन्न भौतिक संरचना तथा कृषि बालीमा क्षति पुगेको प्रनाउ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिका–५, तापेथोक र वडा ६ लेलेपको पुछार रानीपुलस्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज तमोर नदीमा आएको बाढीले बगाएको छ।
यस्तै मङ्गलबार नै फक्ताङ्लुङ गाउँपालिका–३, लिङ्खिमस्थित तावा खोलामा आएको बाढीले ह्युम पाइप बिच्छ्याएको डाइभर्सनमा क्षति गर्दा तमोर कोरिडोर सडक अवरुद्ध भएको छ। फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक नजिक रहेको सिसाँवा खोलामा आएको बाढीले मोटरसाइकल तर्ने र मानिस आउजाउ गर्ने काठेपुल बगाएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो। अध्यक्ष लिम्बूका अनुसार सिसाँवा खोलाले पनि यातायात अवरुद्ध हुनेगरी तमोर कोरिडोर सडकलाई क्षति गरेको छ।
त्यस्तै मङ्गलबार रातिकै वर्षासँगै पहिरो जाँदा फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुको बिपुधाप गाउँमा तीन घरमा क्षति पुगेको छ। प्रनाउ गौतमका अनुसार स्थानीय कुमार लिम्बूको ढुङ्गा, माटो, काठ र जस्तापाको प्रयोग गरी निर्माण गरिएको दुई तले घर पहिरोले क्षति गरेको छ। सोही गाउँका मङ्गलबहादुर लिम्बू र मनकुमार लिम्बूको घरमा पनि पहिरोले क्षति गरेको छ। पहिरोले घर चर्काएको र बसोवास गर्नका लागि जोखिमयुक्त बनाएको प्रहरीले जनाएको छ।
बिपुधापकै स्थानीय सुखमाया लिम्बूको कृषि बालीमा पहिरोले क्षति गरेको छ। लिम्बूको चार रोपनी जमिन (बारी) मा लगाएको कोदो, मकै र नगदे बाली अलैँची पहिरोले पुरेर पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। गएको मङ्गलबार रातिकै वर्षाका कारण सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनमा पहिरोले स्थानीय किसानले लगाएको अलैँची बालीमा क्षति गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार याम्फुदिनका अभिमान राईको १५ रोपनी क्षेत्रफलमा लगाएको अलैँची बाली पहिरोले क्षति गरेको छ। त्यस्तै याम्फुदिनकै पदमबहादुर राई, हस्तबहादुर राई र बसन्त राईको समान दुई–दई रोपनी क्षेत्रफल बराबरको जमिनमा लगाएको अलैँची बाढीपहिरोले क्षति गरेको छ। स्थानीय जीतबहादुर राईको तीन रोपनी तथा बिर्खबहादुर राई र देवकुमार राईको एक–एक रोपनी क्षेत्रफलमा लगाएको अलैँची बालीमा पहिरोले क्षति गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी गएको शनिबार वर्षासँगै मैवाखोला गाउँपालिकास्थित माङमाया खोलामा बाढी आउँदा मदन भण्डारी मार्ग अवरुद्ध बनेको थियो। माङमाया खोलामा आएको बाढीले अवरुद्ध बनाएको मदन भण्डारी मार्गको साँघु–ढुङ्गेसाँघु–फुङ्लिङ सडक खण्ड मैवाखोला गाउँपालिकाले अवरोध पन्छाएर खुलाएपछि हाल भने सडक सञ्चालनमा आइसकेको प्रहरीले जानकारी दिएको छ।
साउनयता निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोका कारण कृषि बाली र सडक, पैदल मार्ग, पुलजस्ता भौतिक संरचनामा क्षति पुग्दै आएको छ। तुलनात्मक रूपमा जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा बाढीपहिरोले बढी क्षति गरेको पाइएको छ। गएको मङ्गलबार राति फक्ताङ्लुङ गाउँपालिकाको तापेथोक, लेलेप र इखाबु क्षेत्रमा १०६.३ मिलिमिटर पानी परेको तथ्याङ्क रेकर्ड भएको जल तथा मौसम विज्ञान कार्यालय धरानका मौसम विज्ञान सहायक राजुकुमार मिश्रले जानकारी दिनुभयो।