• १० साउन २०८२, शनिबार

बगानभन्दा बजारमा सस्तो भुइँकटहर

blog

बोमलाल गिरी

नवलपुर, साउन ८ गते । देबचुली नगरपालिका–५ बन्दीपुर भुइँकटहर उत्पादनको पकेट क्षेत्र मानिन्छ, जहाँ अधिकांशले भुइँकटहर खेती गेका छन् । यहाँ उत्पादित भुइँकटहर स्वादका लागि चर्चित छ । आन्तरिक पर्यटकले बगानमै पुगेर भुइँकटहर खाने र कोसेलीका रूपमा लैजाने गर्छन् । तर ग्राहकले भने बजार मूल्यभन्दा बगानमा बढी मूल्य तिर्नुपरेको गुनासो गरेका छन् । 

बगानमा प्रतिगोटा ८० देखि १०० रुपियाँसम्म पर्ने भुइँकटहर कावासोती र दलदले बजारमा ६०–७० रुपियाँमै पाइन्छ । कावासोती–८ का गोविन्द पौडेलले भन्नुभयो, ‘‘बगानमै पुगेर ८० रुपियाँमा किनियो, तर बजारमा भने ६० रुपियाँमै पाइने रहेछ ।’’

बाटोको सहजता र प्रचारप्रसारले ग्राहक बगानमै आउने भएकाले कटहरले बगानमै भाउ पाएको किसानको भनाइ छ । “पहिले डोकोमा बोकेर बजारसम्म पुर्‍याउँथ्यौं, अहिले यातायातको सहजता र प्रचार प्रचास पनि भयो र लोकल तथा स्वादिलो पनि भएकाले ग्राहक बगानमै आउनुहुन्छ, भाउ पनि राम्रै पाएको छ,’’ स्थानीय भुइँकटहर कृषक केशरी फाल मगरले भन्नुभयो । 

ग्राहक बगानै पुगेर किन्न थालेपछि खुद्रा बिक्रेतालाई भने समस्या भएको छ । बन्दीपुरबाट डोकोमा भुइँकटहर बोकेर बिक्री गर्दै हिँडेका मनबहादुर पुलामीले भन्नुभयो, ‘‘बगानको भन्दा सस्तोमा बेच्दै छु, तर बिहानैदेखि हिँड्दा पनि खासै बिक्री भएको छैन ।’’

बिदाको दिन बन्दीपुर घुम्न जानेको भिड नै लाग्ने गर्छ । किसानले गाउमा आउने आन्तरिक पर्यटकलाई स्वागतमा भुइँकटहर टक्राउने, बगान घुमाउने गर्छन् । जसले गर्दा पर्यटक पनि रमाउन थालेका छन ।

अहिले देवचुली ५ को बन्दीपुर, मौलाथर, हर्कपुरलगायतका पाखामा भुइँकटहर फलेका छन् । करिब ४५ हेक्टरमा क्षेत्रफलमा यसको खेती हुने गरेको कृषि ज्ञान केन्द्र, नवलपुरले जनाएको छ ।