प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन ८ गते । रौतहटको चन्द्रपुर नगरपालिका–६, डाबरी मोथियाही बेतौना सडक कालोपत्रेसहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक कालोपत्र भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण स्थानीयले भोग्नुपरेको सास्तीको अन्त्य भएको चन्द्रपुर–६ का वडाध्यक्ष सहदेव केसीले जानकारी दिनुभयो ।
डाबरी मोथियाही बेतौना सडक सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जबाट ठेक्का भइ ९ सय मिटर लम्बाइ कालोपत्रको कार्य फाल्गुनमा सुरु भएर असारमा समाप्त भएको इन्जिनियर मनिष सिंहले जानकारी दिनुभयो ।
डाबरी मोथियाही बेतौना सडक कालोपत्रको लागि रितेश कन्स्ट्रकसन प्रालिले ७९ लाख छ हजार ३ सय ८० रुपियाँ ७६ पैसामा ठेक्का सकार गरेको थियो ।
गुणस्तरिय कालोपत्र निर्माणका लागि कार्यालयले पूर्णरूपमा ध्यान केन्द्रित गरेर काम गराएको सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जका सूचना अधिकारी राजन जयसवालले बताउनुभयो ।
सडक कालोपत्र भएसँगै हिलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनुका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासीहरू खुसी भएका छन् । सडक कालोपत्रका लागि आर्थिक वर्ष २०८१०८२ मा सहरी विकास मन्त्रालयले १ करोड पचास लाख विनियोजन गरेको थियो ।
सडक स्तरोन्नति भएसँगै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी बलराम सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षातको समयमा सवारी साधन हिलोमा फस्ने समस्या थियो । सडक हिलाम्मे हुँदा पैदल यात्रा गर्न पनि निकै कठिने हुने गरेको थियो । सडक कालाेपत्रे भएसँगै आउन जान सहज भएको छ । सडक पनि चिटिक्क देखिएको छ ।’’
सडकको दुरवस्थाका कारण स्थानीयवासीहरूले भोगेको सास्तीलाई मध्यनजर गर्दै सडक स्तरोन्नतिका लागि बारम्बारको प्रयास पछि सडक पिच भएको वडाध्यक्ष केसीले बताउनुभयो ।