तम्घास समाचारदाता
तम्घास (गुल्मी), साउन ८ गते । मदन भण्डारी राजमार्गको सडकमा खाल्टैखाल्टाले सवारीसाधनमा आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको छ । राजमार्गमा जताततै भएका खाल्डाले गर्दा दुर्घटना निम्त्याउने जोखिम बढेको छ ।
गुल्मी जिल्लास्थित मदन भण्डारी राजमार्ग अन्तर्गतको तम्घास–छल्दी सडकखण्ड भत्किन थालेसँगै र सडकका घुम्तीमै खाडल भएपछि दुर्घटनाको जोखिम बढेको हो । उक्त सडकखण्डको नालीमा घाँस र माटो भरिएर सडकमै पानी जम्मा हुँदा थप दुर्घटना बढ्दै गएको यात्रुले गुनासो गर्दै आएका छन् ।
राजमार्गका विभिन्न स्थान र घुम्तीमा कतै ससाना खाल्डा र कतै पानीका पोखरी जस्तै ठुला खाल्डा बन्दासमेत सडक मर्मतमा सरोकारवाला निकायले चासो देखाएको पाइँदैन ।
छ वर्षपहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडकखण्ड अहिले जीर्ण बन्दै गएको छ । समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो । सवारीचालक लोकेन्द्र खत्रीले रातको समय उक्त सडकको यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गुनासो गर्नुभयो । ।
उहाँले लामो समय बित्दासमेत सडक मर्मत नहुनु दुःखद पक्ष भएको बताउनुभयो । अटोचालक केशव कुँवरले सडक जीर्ण बन्दै जान थालेपछि साना सवारीसाधनलाई बढी समस्या पर्दै गएको बताउनुभयो । उहाँले राजमार्गमा यात्रा गर्दा घुम्तीमा ठुला सवारीसाधनले पेलेर आउँदा निकै जोखिम मोल्नु परेको गुनासो गर्नुभयो । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निर्माण सम्पन्न भएको थियो । मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सडकमा सामान्य मर्मतको काम पनि नगर्दा थप जोखिम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।
राजमार्ग भएर गुल्मीका अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारीसाधन चल्ने गर्दछन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले सडकका खाल्टाखुल्टी पुर्नका लागि ठेक्का लगाइसकिएको बताउनुभयो । बजेटको व्यवस्थापन गरी अन्तिम चरणमा ठेक्का लगाएकाले वर्षायाममा काम गर्न नसकिएको उहाँको भनाइ छ । पौडेलले वर्षायाम सकिएलगत्तै तम्घासदेखि सिमलटारीसम्मका खाल्टाखुल्टी मर्मत गरिने जानकारी दिनुभयो ।