• ९ साउन २०८२, शुक्रबार

मुख्यमन्त्री रोजगार कार्यक्रम परिमार्जन

blog

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ।

बुलबुले समाचारदाता

सुर्खेत, साउन ८ गते । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ को नाम र उद्देश्य परिवर्तन गरेर त्यसलाई कार्यान्वयन ल्याउने भएको छ । स्थानीयस्तरको माग र आवश्यकता अनुरूप मुख्यमन्त्री रोजगार कार्यक्रमलाई पुनः संरचना गर्दै कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । पूर्वाधारकेन्द्रित कार्यक्रम कटौती गरेर उत्पादनसँग सम्बन्धित कार्यक्रम मात्र कार्यान्वयन गर्न लागिएको हो ।

यसअघि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मात्र थियो भने चालु आवदेखि ‘मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रम’ नामकरण गरिएको छ । नाम र उद्देश्य परिवर्तन गरेर कार्यक्रम कार्यान्वयन गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत विगतमा सञ्चालन गरिने सडक र भवन निर्माणका काम भने कटौती गरिएको कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले बताउनुभयो । लागत धेरै र प्रतिफल न्यून भएकाले पूर्वाधारका कार्यक्रम कटौती गरेर उत्पादनलक्षित कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । अतिरिक्त सिप तथा उद्यम विकास र कृषिका कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको ढाँचा परिवर्तन गरिएको हो । सिँचाइ, खानेपानी, सहकारी र उद्योग विशेष कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाइएको छ ।

कार्यक्रम प्रदेशका सबै वडामा कार्यान्वयन भइरहेको छ । प्रदेश सरकारले आव २०७६/७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । त्यसयता प्रदेशका ७१८ वडामध्ये ७०३ वडामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको थियो । कार्यक्रमबाट १५ वटा वडा वञ्चित भइरहेका थिए । 

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयन गरिएको हो । प्रदेश सरकारको कार्यक्रम भए पनि यो स्थानीय तहबाट कार्यान्वयन हुन्छ । यस वर्ष सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएको छ ।