सिँजा समाचारदाता
सिँजा (जुम्ला), साउन ८ गते । पातारासी गाउँपालिका–३, चौरगाउँ बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथिबाट बग्ने खोलामा वर्षायाममा आउने बाढी तथा पहिरोका कारण गाउँ र आसपासका क्षेत्रमा ठुलो क्षति हुने गरेको छ । विशेष गरी चौरगाउँको मुन्तिर रहेको खेतीयोग्य जमिनमा प्रत्यक्ष असर परेको छ ।
मकै र आलु उत्पादन गरिँदै आएको जमिन बाढी र पहिरोले कटान गरी बगरमा परिणत भएको छ । जसले स्थानीय कृषिमा गम्भीर असर पारेको छ । बर्सेनि बर्खायाममा दोहोरिरहने यस्ता विपत्का कारण चौरगाउँका नागरिकलाई सास्ती हुँदै आएको छ । स्थानीय सरकार र सरोकारवालाले दीर्घकालीन समाधानको पहल नगरेसम्म चौरगाउँका बासिन्दा अझै ठुलो जोखिममा पर्ने देखिन्छ । उचित तटबन्ध, भूसंरक्षण र स्थायी व्यवस्थापनको आवश्यकता देखिन्छ ।
खोला किनारमा रहेका घर बाढीपहिरोको जोखिममा रहेको वडाध्यक्ष गोविन्द रावतले बताउनुभयो । गाउँमा रहेका २२५ घरधुरीमध्ये ४० घर सार्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । प्रत्येक वर्ष आउने बाढी तथा पहिरोले करिब तीन हेक्टर जति खेतीयोग्य जमिन कटान गरिसकेको छ । बस्ती स्थानान्तरणको कुरा पटक पटक उठे पनि बस्ती सार्ने काम नहुँदा बर्सेनि बाढीपहिरोले स्थानीय त्रासदीमा रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरे पनि त्यसको कार्यान्वयन अहिलेसम्म भएको छैन । करिब तीन वर्षअघि बस्ती स्थानान्तरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सङ्घ र प्रदेश सरकारमा पेस गरिए पनि त्यसबारे कुनै सुनुवाइ नभएको वडाध्यक्ष रावतले बताउनुभयो ।