प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन ८ गते । करदाता सेवा कार्यालय गौर, रौतहटका कर अधिकृत रेशम तामाङले चालु आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको शतप्रतिशत राजस्व सङ्कलन गर्ने उद्देश्य कार्यालयको रहेको बताउनुभएको छ ।
रौतहट उद्योग वाणिज्य संघको सभाहलमा बुधबार आयोजित संघको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा कर अधिकृत तामाङ्गले रौतहट उद्योग बाणिज्य संघसँगको सहकार्यले मात्र लक्ष्य अनुसार राजस्व असुली सम्भव रहेकोले संघ संगको सहकार्यमा विशेष जोड दिइने बताउनुभयो ।
संघमा नयाँ कार्यकालका लागि युवा नेतृत्व आएकोले राष्ट्र निर्माणमा सकारात्मक सहयोग पुग्ने बिश्वास आफुले लिएको बताउनुहुँदै कर अधिकृत तामाङ्गले गौरमा करदाता कार्यालयको स्थापनामा समेत रौतहट उद्योग बाणिज्य संघको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा सबैको सहकार्य र सहयोगले नै कार्यालयले लक्ष्यको ८८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रविन्द्र नाथ गोपालिले रौतहटको उद्योगि, व्यापारीको हकहितको लागि आफु सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
रौतहटको व्यापार दिन प्रतिदिन कम हुँदै गएको अवस्थामा यसको दीर्घकालीन समाधानतर्फ नयाँ कार्यसमिति सकारात्मक भूमिका खेल्ने प्रतिबध्ता व्यक्त गर्नु हुँदै अध्यक्ष गोपालिले सवै पक्षसँगको सहकार्यले आगामी कार्य दिशा तय गर्ने बताउनुभयो ।
कार्यक्रममा बक्ताहरुले भारतीय सीमाका कारण यहाँको व्यापार व्यवसाय कम हुन् गइ कतिपय पसलहरुमा ताल्चा लागने गरेकोले सो अवस्था आउन नदिन तथा पसलको अनुगमन आउने वित्तिकै पसल बन्द गरेर राख्नुपर्ने अवस्था अन्त्यका लागि रौतहट उद्योग वाणिज्य संघले ठोस कदम चाल्नु पर्ने बताउनुभयो ।