सिरहा, साउन ८ गते । सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो ।
नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई निश्चित स्थानमा सारिएको हो । हटिया स्थानान्तरणसँगै कञ्चनपुर–कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ ।
“सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो”, हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो ।”
गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो । सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो । अब सुधार हुने अपेक्षा गरेका छौँ ।”
गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको जनाएको छ । रासस