• ९ साउन २०८२, शुक्रबार

पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा छाड्न दबाब

blog

गौरीगंगा नगरपालिकामा ८४ परिवार बसोबास गर्दै आएको शान्तिटोल । तस्बिर : निराजन परियार

निराजन परियार
चौमाला (कैलाली) साउन ८ गते ।
पुस्तौंदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका गौरीगंगा नगरपालिका–१० शान्तिटोलका ८४ परिवार अहिले चिन्तामा छन् । विसं. २०२९ देखि शान्तिटोल बासीले भोगचलन गर्दै आएको जमिन र बस्ति नै खाली गर्न भनेपछि समस्या भएको हो ।

सरस्वति सामुदायिक वन नजिक रहेको शान्तिटोल बासीले बसोबास गर्दै आएको जमिन २०७४ सालमा वनको नक्सामा समेटिएको थियो ।

बाबुबाजेले पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिन वनको नक्सामा समेटिएपछि शान्तिटोल बासी दबाब र चिन्तामा पर्दै आएका हुन् । सरस्वति सामुदायिक वन नजिक रहेको शान्तिटोलमा मुक्त हलिया परिवार र कमैया परिवारका ८४ घर धुरी रहेका छन् ।

स्थानीय भोजबहादुर सार्कीले वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएको बताउनुभयो । अहिले आएर यो जग्गा खाली गर्न भनेर डिभिजन वन कार्यालय कार्यालयको निर्देशनमा सरस्वति सामुदायिक वनका अध्यक्षले सात दिनको सूचना जारी गरेको बताउनुभयो ।

उहाँले अहिले कहाँ जाने भन्ने समस्या परेको बताउनुभयो । यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा परेकोे दुखेसो पोख्नुभयो । वर्षातको समयमा नियत बस घर खाली न गरे डोजर लगाउछौ भन्दै भम्की आउने गरेको बताउदै उहाँले अहिले भोक र निद्रा नै हराएको बताउनुभयो । राज्यले आफुहरुको उचित बासको पूर्ण रुपमा ग्यारेण्टी न गर्दा सम्म यो ठाउँ नछोड्ने उहाँको भनाइ छ ।

उक्त बस्तिमा सबैैभन्दा बढी सार्की, नेपाली र थारु समुदायको बसोबास रहेको छ । उहाँहरु चार बिघा रहेको उक्त जमिनमा घर बनाएर भोगचलन गर्दै आएका छन् । 

पछिल्लो समय केही दिनयता  बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको निषा सार्कीको भनाइ छ ।

‘‘जग्गा खाली गराउने भन्दै धम्की आउन थालेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? समस्यामा परेका छौं,’’ उहाँले भन्नुभयो । शान्ति टोलवासीले विस्थापित हुनबाट जोगाइदिन सबैसँग अपिलसमेत गरेका छन् ।
स्थानीय शान्तिटोलवासीले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने स्थानीय समेत रहेकी कमलरी कमैया जागरण मञ्चका जिल्ला अध्यक्ष मिना कठरियाले बताउनुभयो । सरकाले आफूहरूलाई न्याय दिनुपर्ने ठाउँमा उठिबाँस गर्न लागेको उहाँको भनाइ छ ।

राजनीतिक दबाबका कारण हामीहरुलाई अर्को व्यवस्था नगरेर घरमा डोजर लगाएर बेघर बनाई उठीबास लगाउन खोजिएकोे उहाँको आरोप छ ।

सरस्वति सामुदायिक वनका अध्यक्ष पदमबहादुर ऐरले जमिन खालि गर्न एक हप्ताको सूचना निकालेको बताउनुभयो । उहाँले राज्यले अर्को व्यवस्था नभए सम्म न हटाउने भन्ने थियोे बनको क्षेत्र भित्र पर्ने जमिनमा खेतजोत गर्न थालेपनि हटाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । अब कसरी अगाडि बढ्ने भन्नेबारे स्थानीय तहसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

गौरीगंगा नगरपालिका नगर उपप्रमुख भोजबहादुर बमले १० नम्बर वडामा रहेको शान्ति बस्ति बिगत लामो समयदेखि बसिरहेको बताउदै उहाँले घर बाहेक भोगचलन गर्दै आएको जमिन खालि गराउने भनेर छलफल भईरहेको बताउनुभयो । यता स्थानीयहरुले भने आफूहरुलाई जग्गाको व्यवस्थापन नगरे सम्म ठाउँ नछोड्ने बताएका छन् ।