बिकास अधिकारी
पश्चिम नवलपरासी, साउन ८ गते । जिल्ला अदालत पश्चिम नवलपरासीले दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्ने रणनिति अनुसार काम अघि बढाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ३१ वटा दुई वर्ष नाघेका मुद्दा रहेकोमा गत आर्थिक वर्षमा १६ वटा मात्र रहेको छ ।
मुद्दाको फर्छ्यौट प्रतिशतमा समेत विगतका वर्षको तुलनामा वृद्धि भएको अदालतका स्रेस्तेदार जानकीरमण यादवले बताउनुभयो । अघिल्ला आर्थिक वर्षहरुमा ५० भन्दा बढि मुद्दा दुई वर्ष नाघेका मात्रै म्याद सरेर अर्को आर्थिक वर्षमा जाने गरेको थियो । अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा एक वर्षको अवधिमा दर्ता भएका कुल तीन हजार पाँच् सय ५६ मुद्दामध्ये दुई हजार चार सय ४६ वटा मुद्दा फर्छ्यौट भएको छ भने एक हजार एक सय १० वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
कुल मुद्दाको ६८ दशमलव ७८ प्रतिशत फर्छ्यौट गर्न अदालत सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल मुद्दाको ६० प्रतिशत मात्र फर्छ्यौट भएका थिए । पछिल्लो चार आर्थिक वर्षमा क्रमश मुद्दाको फर्छ्यौट दरमा वृद्धि हुदै गएको अदालतको तथ्याङ्कले देखाउछ । जिल्ला न्यायाधीश केशव प्रसाद अधिकारीले नागरिकलाई अदालतबाट छिटो छरितो रुपमा न्याय निरुपण होस् भन्ने उद्देश्यले लामो समय सम्म फैसला हुन नसकेका मुद्दालाई प्राथमिकता दिएर किनारा लगाउदै लगिएको बताउनुभयो ।
अदालती कामकारवाहीलाई चुस्तदुरुस्त, निष्पक्ष र छिटोछरितो बनाउन प्रविधिको सक्दो उपयोग गरिएको बताउँदै कार्यसम्पादनमा न्यायधिक तथा कर्मचारीहरूको सरुवाले पनि असर गरेको बताउनुभयो ।