गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ८ गते । वासु शशि स्मृति परिषद्को साधारण सभाले कालीप्रसाद रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा बुधबार काठमाडौँमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्यसचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरूमा ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशीलाई चयन गरेको छ ।
यसै गरी परिषद्को संरक्षकमा श्रीमती जुलुम वैद्य, सल्लाहकारहरूमा यादव खरेल र राधेश्याम लेकाली रहनुभएको छ । परिषद्ले परिषद्का अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको निधनमा शोक प्रस्ताव पारित गर्दै यसै वर्षदेखि ‘वासु शशि स्रष्टा पुरस्कार’ को पनि स्थापना गर्ने निर्णय गरेको छ ।