बेइजिङ, साउन ६ गते । पूर्वी चीनको सान्डोङ प्रान्तमा मङ्गलबार आएको बाढीमा दुई जनाको मृत्यु भएको र १० जना बेपत्ता भएको सरकारी मिडियाले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार प्रान्तीय राजधानी जिनानका केही भागमा मध्यरातदेखि बिहान ५ बजेको बीचमा ३६४ मिलिमिटर (१४ इन्च) सम्म वर्षा भएको थियो ।
वर्षाले डाङजुआङ सहरका दुईवटा गाउँमा आकस्मिक बाढी आएको र १९ वटा घर ‘ध्वस्त वा क्षतिग्रस्त’ भएको सिसिटिभीले जनाएको छ । “अहिले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धारका लागि हरसम्भव प्रयास भइरहेको छ”, प्रसारणकर्ताले भनेको छ । सिसिटिभीका अनुसार अधिकारीहरूले विपत्तिपछिको उद्धार र अनुगमन कार्य व्यवस्थित रूपमा गर्नेछन् ।
चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता हो । वैज्ञानिकहरू हरितगृह ग्यासले सामान्यतया जलवायु परिवर्तनको कारण र चरम मौसमलाई बारम्बार र तीव्र बनाउँछन् भन्ने कुरामा सहमत छन् । तर चीन एक विश्वव्यापी नवीकरणीय ऊर्जा पावर हाउस पनि हो । चीनले सन् २०६० सम्ममा आफ्नो विशाल अर्थतन्त्रलाई कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ ।
राज्य मिडियाका अनुसार जुन महिनामा दक्षिणी गुइझोउ प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको थियो र ८० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो । यस महिना सिचुआन प्रान्तको राजमार्गमा भएको भूस्खलनले पनि पहाडको छेउमा धेरै कार बगाएपछि पाँच जनाको मृत्यु भएको थियो । रासस/एएफपी