• ५ साउन २०८२, सोमबार

ताप्लेजुङमा 'डिसास्टर मेनेजमेन्ट स्टोर' भवनको उद्‌घाटन

blog

नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको संयुक्त रूपमा उद्‍घाटन गर्नुहुँदै फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, साउन ५ गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्‌घाटन गरिएको छ । ताप्लेजुङमा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक सामाग्रीको व्यवस्थापन सहित नवनिर्मित भवनको उद्‌घाटन गरिएको हो । 

कुल ८ लाख ६० हजार ७८८ रुपियाँको लागतमा निर्मित भवनको उद्‌घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गरिएको छ । जिल्लामा हुने विपद् प्रतिकार्यका लागि चाहिने आवश्यक सामाग्री समेत स्थानीय तह तथा अन्य सङ्घसंस्थाको समन्वयमा खरिद गरि भण्डारण गरिएको गुल्मका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि फुङलिङ नगरपालिकाको छ लाख रुपियाँ लागत र दुई लाख ७८ हजार ७८८ रुपियाँ बरारको गुल्मको आन्तरिक स्राेत र कामदारमार्फत भवनको निर्माण गरिएको हो । 

विपद् प्रतिकार्यमा आवश्यक पर्ने सामाग्री व्यवस्थापनका लागि पाथीभरा याङवरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति, डिभिजन वन कार्यालय ताप्लेजुङले सहयोग गरेको गुल्मपति डीएसपी महर्जनको भनाइ छ । गुल्मका अनुसार मिक्वाखोला गाउँपालिकाबाट चेनस मेसिन एक थान र पाथीभरा याङवरक गाउँपालिकाबाट ६४ हजार ८७५ रुपियाँ बराबरको विभिन्न विपद् उद्धारका सामाग्री प्राप्त भएको छ । यस्तै पाथीभरा क्षेत्र विकास समितिबाट  दुई लाख नौ हजार ६८१ रुपियाँ र डिभिजन वन कार्यालयबाट एक लाख २१ हजार १० रुपियाँ बराबरको सामाग्री प्राप्त भएको गुल्मपति महर्जनको भनाइ छ । 

कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम विभिन्न कार्यालय प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।