• ७ साउन २०८२, बुधबार

बाम्का बजारको पुनर्निर्माण

blog

बाजुरा समाचारदाता

बाजुरा, साउन ५ गते । गत जेठ २३ गते दिउँसो भीषण आगलागीबाट ध्वस्त भएको बाम्का बजारको पुनर्निर्माण भएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा बाम्का बजारको पुनर्निर्माण गरिएको हो । 

बाजुराको मुख्य व्यापारी केन्द्रका रूपमा चिनिँदै आएको बुढीगङ्गा नगरपालिका–५, बाम्बास्थित बाम्का बजारमा टिनका टहरा ठडिए पनि त्यसमा सामान अझै राख्न सकिएको छैन । जेठ २३ गते नवदुर्गा होटेलमा सिलिन्डर ग्यास पट्किएर भएको आगलागीमा झन्डै ३६ भन्दा बढी पसल र होटेल जलेर नष्ट भएका थिए । टहरा ठडिए पनि पसल र होटेल पहिलेको अवस्थामा आउन सकेको छैन । 

यहाँ अधिकांश पसलेले बैँक तथा वित्तीय संस्थाको ऋण लिएर व्यापार सुरु गरेका थिए । आगलागीका कारण ती पसले आर्थिक मारमा परेका छन् । बाम्का बजारका आगलागीपीडित दीपक साउदले भन्नुभयो, “बाहिरका लागि यो बाम्का बजार बजार देखिए पनि हामीहरूका लागि  भने यहाँ घरबास जस्तो थियो । सबै ध्वस्त भएको छ ।” आगलागी हुँदा शैक्षिक प्रमाणपत्र, लालपुर्जा, बैँक कारोबारका कागजात जलेर नष्ट भएको छ । सहयोगबाट टहरा निर्माण भए पनि यसमा मालसामान हाल्न निकै समस्या भइरहेको उहाँले बताउनुभयो । यहाँ त्रिवेणी नगरपालिकाले १०, बुढीगङ्गाले पाँच र हिमाली स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, खप्तड, छेडेदहलगायतका पालिकाले एक/दुई लाख सहयोग गरेका थिए । प्रदेश सरकारले चालिस लाख रुपियाँ सहयोग गरेको छ ।