विनय कर्ण
कल्याणपुर (सप्तरी) साउन ५ गते । सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ३ स्थित नर्घोबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीटोलीले राजगढ ३ नर्घास्थित ४५ वर्षीय रामकेबल मण्डलको घरमा आइतबार खानतलासी गर्दा निर्माणाधीन शौचालय, गाईगोठ र घरनजिकैको बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा १२ वटा बोरामा रहेको तीनसय ८८ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले विशेष सूचनाको आधारमा ठुलो परिमाणको गाँजा र रामकेबल मण्डलको ४१ वर्षीया श्रीमती रेखाकुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धानका अगाडि बढाइएको बताउनुभयो ।