बुलबुले समाचारदाता
सुर्खेत, साउन ५ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार चिनियाँ हतियार र ठुलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन् ।
प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार वीरेन्द्रनगर–८, कृष्णमन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको हो । यस्तै असार ३२ गते सुर्खेत प्रहरीले नक्कली नेपाली नोट छाप्ने र लागु औषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूको साथबाट १३ लाख रुपियाँको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण नियन्त्रणमा लिएको हो । यसरी हेर्दा पछिल्लो समय कर्णाली प्रदेशमा लागु औषध कारोबार तथा अन्य अपराधका घटनामा वृद्धि भएको छ ।
प्रत्येक वर्ष लागु औषध कारोबार बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता भेटिएको प्रहरीले जनाएको छ । विरेन्द्रनगरमा लागु औषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवा संलग्न रहेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागु औषधको कारोबार र प्रयोगकर्ता बढेका छन् ।
प्रदेशमा रुपैडिया, गड्डाचौकी नाकालगायत आसपासका क्षेत्रबाट लागु औषध बढी कारोबार हुने गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार प्रदेशभर आव २०८१/८२ मा लागु औषधसम्बन्धी १८७ मुद्दा दर्ता भएका छन् । तिनमा २८७ पुरुष र १९ जना महिला पक्राउ परेका छन् । आव २०८०/८१ मा १०६ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । १६० जना पुरुष र आठ जना महिला पक्राउ परेका थिए । यस्तै आव २०७९/८० मा ११४ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता हुँदा १९९ पुरुष र १६ जना महिला पक्राउ परेका प्रदेश प्रहरी कार्यालय सुर्खेको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा ९५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए । उक्त वर्षमा १६४ जना पुरुष र आठ महिला पक्राउ परेका थिए । आव २०७७/७८ मा ८४ वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । उक्त वर्ष १२१ जना पुरुष र १५ महिला पक्राउ परेका थिए । यसले पछिल्ला वर्षमा लागु औषधसँग जोडिएका घटना बढ्दै गएको देखाउँछ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठले लागु औषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका धेरै भेटिएको बताउनुभयो । उहाँका अनुसार १८ वर्षमुनिका पनि केही सङ्ख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ । लागु औषध कारोबार नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागु औषधको अवस्था चिन्ताजनक छ । पछिल्ला केही वर्षको तथ्याङ्कले समेत सुर्खेतमा लागु औषध कारोबार बढेको देखिन्छ ।