मुसीकोट समाचारदाता
रुकुमपश्चिम, साउन ५ गते । रुकुमपश्चिममा सङ्घीय सरकारको पाँच अर्ब ८१ करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा पाँच अर्ब ८१ करोड १२ लाख ६४ हजार ९१० रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख पूर्ण ओलीका अनुसार सङ्घीय सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको बजेटमध्ये उक्त रकम खर्च भएको हो । उहाँका अनुसार खर्च भएकोमध्ये चालुतर्फ चार अर्ब १७ करोड १४ लाख ८३ हजार ७९७ रुपियाँ र पुँजीगततर्फ एक अर्ब ६३ करोड ९७ लाख ८१ हजार ११२ रुपियाँ छ । कुल बजेटमध्ये चालुतर्फ ९२.८९ प्रतिशत र पुँजीगततर्फ ८१.४६ प्रतिशत खर्च भएको कोष प्रमुख ओलीले जानकारी दिनुभयो ।
स्थानीय तहमा २५ करोड फ्रिज
गत आर्थिक वर्ष २०८१/८२ मा रुकुमपश्चिमका छ वटा स्थानीय तहमा सङ्घीय सरकारको तीन अर्बभन्दा बढी बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमपश्चिमका अनुसार छ वटा स्थानीय तहबाट तीन अर्ब नौ करोड १२ लाख ९५ हजार ४३७ रुपियाँ खर्च भएको छ । छ वटै स्थानीय तहमा विनियोजित बजेटमध्ये २५ करोड नौ लाख १६ हजार ९६५ रुपियाँ खर्च हुन नसकेर फ्रिज भएको छ । कोष प्रमुख ओलीका अनुसार सबैभन्दा बढी रकम मुसीकोट नगरपालिकामा खर्च भएको छ । मुसीकोटमा ६६ करोड ३७ लाख नौ हजार ५५१ रुपियाँ खर्च भएको छ भने छ करोड ५१ लाख ५३ हजार ६९१ रुपियाँ खर्च नभएर फ्रिज भएको छ ।
त्यसै गरी आठबिसकोट नगरपालिकामा ५९ करोड ९४ लाख ७६ हजार ७७८ रुपियाँ खर्च भएको छ भने चार करोड ३७ लाख ८२ हजार ५२७ रुपियाँ ८६ पैसा फ्रिज भएको छ । चौरजहारी नगरपालिकामा ४७ करोड ३९ लाख ३४ हजार २७ रुपियाँ १५ पैसा खर्च भएको छ भने तीन करोड ३९ लाख ९८ हजार १८६ रुपियाँ खर्च नभएर फ्रिज भएको छ । सानीभेरी गाउँपालिकामा ५० करोड ४३ लाख ९० हजार ९१६ रुपियाँ खर्च भएको छ भने एक करोड ९६ लाख ४० हजार ३७२ रुपियाँ फ्रिज भएको छ । त्रिवेणी गाउँपालिकामा ४७ करोड ३७ लाख सात हजार ८१ रुपियाँ खर्च भएको छ भने दुई करोड ९७ लाख ४८ हजार ५८५ रुपियाँ खर्च हुन नसकेर फ्रिज भएको छ । बाँफीकोट गाउँपालिकामा ३७ करोड ६० लाख ७७ हजार ८२ रुपियाँ खर्च भएको छ भने पाँच करोड ८५ लाख ९३ हजार ६०३ रुपियाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।