काठमाडौँ, साउन ४ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिनुभएको छ ।
उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियन कप छनोट–२०२६ को दौरानमा कप्तान, नेपाली व्यवस्थापनसँगको बेमेल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको थियो ।
एसिएन कप छनोटको खेलपछि उज्वेकिस्तानबाटै आफ्नो देश बेल्जियम जानुभएका वाइल्डले त्यतिबेलै नेपाल नफर्कने सङ्केत गर्नुभएको थियो । वाइल्डले शुक्रबार एन्फालाई इमेलमार्फत राजीनामा पठाएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
‘‘एन्फाले उज्वेकिस्तानमा भएको वास्तविकताबारे बताउन प्रशिक्षक वाइल्डलाई पत्र पठाएको थियो । कप्तान र अफिसियलसँग भएको के हो ? जान्नका लागि हामीले पत्र पठाएका थियौँ । तर, उहाँले सोझै राजीनामा लेखेर पठाउनुभएको छ,’’ प्रवक्ता शाहले गोरखापत्रसँग भन्नुभयो ।
शाहले राजीनामाको विषयमा एन्फा सचिवालय र टेक्निकल टिम बसेर छिट्टै निर्णय गर्ने जानकारी पनि दिनुभयो । प्रशिक्षक वाइल्डलाई एन्फाले एक वर्षका लागि सम्झौता गरेको थियो । तर, एन्फाको समग्र संरचना प्रति असन्तुष्टि जनाउँदै वाइल्डले एक महिनामै राजीनामा दिनुभएको हो ।
नेपाली महिला फुटबलका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता रहेको एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो । अन्तिम हारले नेपालको एसियन कपसँगै फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको थियो ।
नेपालले समूह ‘एफ’ अन्तर्गतको आफ्नो पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । छनोटका लागि उज्वेकिस्तानविरुद्ध निर्णायक खेल ३–३ को बराबरी भएपछि टाइब्रेकरमा पुग्दा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले स्तब्ध बनेको थियो ।
अन्तिम खेलको हारसँगै नेपाली टोलीको कप्तान चयन र व्यवस्थापनबिचको विवाद छताछुल्ल भएको थियो ।