सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, साउन ४ गते । सिन्धुली जिल्लामा नौ वटै स्थानीय तहले आर्थिक सुशासन पारदर्शिताका लागि गत आर्थिक वर्ष २०८१/८२ मा भएको बजेट खर्च सार्वजनिक गरेका छन् ।
स्थानीय तहले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत गत आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटको असार २५ गतेसम्मको प्रगति सार्वजनिक गरेका हुन् । गत आवमा जिल्लाका नौ वटै पालिकामा गरी कुल विनियोजित बजेट छ अर्ब ६८ करोड ५६ लाख ३८ हजार ९६२ रुपियाँमा पाँच अर्ब ८३ करोड ३३ लाख १० हजार ८९४ रुपियाँ खर्च भएको छ ।
विनियोजित उक्त बजेटमा ८५ करोड २३ लाख २८ हजार ६८ रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता (फ्रिज) भएको छ । खर्च भएको बजेटमध्ये चालुतर्फ चार अर्ब १४ करोड ६२ लाख १५ हजार ८६१ रुपियाँ र पुँजीगततर्फ एक अर्ब ६८ करोड ७० लाख ९५ हजार ३३ रुपियाँ रहेको छ ।
जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाले कुल एक अर्ब ३५ करोड १९ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत गरी ८४.४१ प्रतिशत अर्थात् एक अर्ब १४ करोड १२ लाख १७ हजार ६८१ रुपियाँ खर्च गरेको छ ।
गत आवमा चालुतर्फ ९२ करोड ६७ लाख २० हजार ७४७ रुपियाँ बजेट विनियोजन भएकोमा ८३ करोड चार लाख ९१ हजार २३७ रुपियाँ अर्थात् ८९.६२ प्रतिशत र पुँजीगततर्फ ४१ करोड ७२ लाख ३४ हजार २५२ रुपियाँ विनियोजन भएकोमा ३१ करोड सात लाख २६ हजार ४४४ रुपियाँ अर्थात् ७४.४७ प्रतिशत खर्च भएको कमलामाई नगरपालिकाले जनाएको छ ।
त्यस्तै दुधौली नगरपालिकाले कुल एक अर्ब नौ करोड ६१ लख ११ हजार चार सय रुपियाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत गरी ८६.४९ प्रतिशत अर्थात् ९४ करोड ८० लाख ७९ हजार ८०५ रुपियाँ खर्च गरेको छ । गत आवमा चालुतर्फ ७७ करोड तीन लाख १५ हजार रुपियाँ बजेट विनियोजन भएकोमा ६८ करोड ५७ लाख ३९ हजार ५४७ रुपियाँ अर्थात् ८९.०२ प्रतिशत र पुँजीगततर्फ ३२ करोड ५७ लाख ९६ हजार चार सय रुपियाँ बजेट विनियोजन भएकोमा २६ करोड २३ लाख ४० हजार २५८ रुपियाँ अर्थात् ८०.५२ प्रतिशत बजेट खर्च भएको दुधौली नगरपालिकाले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले गत आवमा ७० करोड २२ लाख ९६ हजार तीन सय रुपियाँ बजेट विनियोजन गरेकोमा ७६.२५ प्रतिशत खर्च गरेको छ । यसै गरी तीनपाटन गाउँपालिकाले गत आवमा कुल बजेट ८८ करोड १३ लाख १० हजार २२० रुपियाँ विनियोजन गरेकोमा ८८.५७ प्रतिशत खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ९०.४८ प्रतिशत र पुँजीगततर्फ ८३.७५ प्रतिशत रहेको छ । गोलन्जोर गाउँपालिकाले गत आवका लागि कुल ५७ करोड १३ लाख ११ हजार पाँच सय रुपियाँ बजेट विनियोज गरेकोमा ८४.२७ प्रतिशत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
मरिण गाउँपालिकाले गत आवमा ६३ करोड ४२ लाख ६३ हजार आठ सय रुपियाँ बजेट विनियोजन गरेकोमा ८१.२५ प्रतिशत खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८४.४१ प्रतिशत र पुँजीगततर्फ ७६.८४ प्रतिशत रहेको छ । घ्याङ्खेक गाउँपालिकाले गत आवमा ४४ करोड ७० लाख ४८ हजार ९६२ रुपियाँ बजेट विनियोजन गरेकोमा ७८.०७ प्रतिशत खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८४.४४ प्रतिशत र पुँजीगततर्फ ६६.५६ प्रतिशत रहेको जनाइएको छ ।
सुनकोशी गाउँपालिकाले गत आवमा ६६ करोड चार लाख ७७ हजार नौ सय रुपियाँ बजेट विनियोजन गरेकोमा ७७.४९ प्रतिशत खर्च गर्दा चालुतर्फ ९२ प्रतिशत र पुँजीगततर्फ ६७ प्रतिशत रहेको छ ।
फिक्कल गाउँपालिकाले गत आवमा ५४ करोड आठ लाख ६३ हजार ८८० रुपियाँ बजेट विनियोजन गरेकोमा ८५.३१ प्रतिशत खर्च गरेको छ । उक्त खर्चमा चालुतर्फ ८०.६२ प्रतिशत र पुँजीगततर्फ ७७.८७ प्रतिशत रहेको जानकारी दिइएको छ ।