• ४ साउन २०८२, आइतबार

अतिक्रमणको चपेटामा सिमसार क्षेत्र

blog

बबई समाचारदाता 

बबई (बर्दिया), साउन ४ गते । बर्दियाको बढैयाताल गाउँपालिका–५ मा रहेको र गाउँपालिकाको नामकरण गरिएको सिमसार क्षेत्र बढैयाताल अतिक्रमणको चपेटामा पर्दै गएको छ भने तालको क्षेत्रफलसमेत साँघुरिँदै गएको छ । २०३२ सालको नापीले बढैयातालको क्षेत्रफल २३८ बिघा यकिन गरेको भए पनि ताल अतिक्रमण हुँदै जाँदा २०५२ सालमा उक्त तालको क्षेत्रफल १०९ बिघामा सीमित हुन पुगेको देखिन्छ भने त्यसमा पनि अतिक्रमण हुन छाडेको छैन । बढैयाताल गाउँपालिकाको नाम उक्त तालबाट गरिएको हो । सुरु सुरुमा ताल वरिपरि बसोवास गर्नेले तालको पानी सिँचाइका लागि प्रयोग गर्ने गर्दथे । 

पछि तालको पानी सुक्दै जान थालेपछि अतिक्रमणसमेत बढ्दै गएको हो । २०३२ सालमा २३८ बिघा क्षेत्रफल भएको ताल २० वर्षपछि २०५२ सालमा नाप जाँच हुँदा १२९ बिघा तालको जमिन गायब भएको देखिन्छ । बढैयाताल गाउँपालिका–४, बुटाहाका स्थानीय बासिन्दा लल्लु चौधरीले अहिले सो तालको कुल क्षेत्रफल जम्मा १०९ बिघा रहेको र त्यसमा पनि अतिक्रमण भएको बताउनुभयो । 

सुरु सुरुमा ताल किनारमा बसोवास गर्दै आइरहेका स्थानीयले तालको संरक्षण गरेको भए पनि २०३२ देखि २०५२ सालसम्मको अवधिमा तालको ५० प्रतिशतभन्दा बढी भाग अतिक्रमण भएको छ । बढैयाताल गाउँपालिका–५ का स्थानीय मेहीलाल थारूले तालको क्षेत्रफल यकिन भए पनि अझै तालको क्षेत्रफलमा करिब आठ बिघा जमिन अतिक्रमित भएको बताउनुभयो । बढैयातालको पानी कम हुँदै गए पनि सुकुम्वासी भूमिहीनका नाममा तालको जग्गा काट्दै गएको आरोपसमेत स्थानीयले लगाएका छन् ।