यदुप्रसाद भट्ट
मनाङ, साउन ४ गते । मनाङको मुख्य आयस्रोत भनेको पर्यटन हो । यस क्षेत्रका प्रत्येक घरमा होटेल व्यवसाय, चिया पसललगायतका व्यवसाय सञ्चालन हुँदै आएका छन् । यहाँ पर्यटनसँग सम्बन्धित तीन सयभन्दा बढी व्यवसाय छन् । भौगोलिक विकटताले कुनै समय गाउँ छाडेर काठमाडौँ, पोखरा, लमजुङलगायतका सुगम स्थान झरिसकेका मनाङी २०५० सालपछि भने फर्किने क्रम सुरु भएको थियो । अहिले पनि अन्य जिल्लामा गाउँ छाड्ने लहर चलिरहेका बेला आफ्नै गाउँ ठाउँमा भविष्य देखेर सहरबाट फर्किने युवा भेटिन्छन् ।
युवा उद्यमी सेराप विष्टले २०५७ सालमा आफ्नै माटोमा भविष्य देखेर सहरको सुविधा त्याग्नुभयो । आफ्नै बारीमा टनेल लगाएर तरकारी खेती गरी आत्मनिर्भर भएका विष्टले सदरमुकाम चामेमा ‘ह्याप्पी होम’ घरबास सञ्चालन गर्नुभएको छ । विष्टले भन्नुभयो, “एकातिर आफैँले उत्पादन गरी पाहुनालाई अर्गानिक खानेकुरा खुवाउन पाइने अर्कातिर व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्ने भएकाले यो व्यवसाय सञ्चालन गरेको हुँ ।”
विष्टले आफ्नो घरबास विशेष गरी विदेशी पर्यटकले मन पराउने गरेको बताउनुभयो । विदेशी पर्यटक आफ्नै आँखाअगाडि टिपेर प्रयोग गर्न पाउँदा खुसी हुने गरेका विष्टको भनाइ छ । उहाँले थप्नुभयो, “कतिपय पर्यटक त आफैँ बारीमा गएर तरकारी टिप्ने, गोडमेल गर्ने, मलजल गर्ने गर्छन् ।”
केही समयअघि मनाङको चामे पुगेका गण्डकी प्रदेशका कृषिमन्त्री पद्मा जिसी श्रेष्ठले काठमाडौँबाट २०७५ सालमा गाउँ फर्किनुभएका विष्टको प्रशंसा गर्दै आमाबुवासँगै माटो सम्झिएर पौरख गरी गाउँमै सुनौला दिन सुरुवात गर्नुभएको भन्दै प्रशंसा पनि गर्नुभयो । ३२ वर्षीय युवामा कृषिप्रतिको लगाव, समाजप्रतिको उत्तरदायित्व अनि परिवारप्रति अथाह प्रेमपूर्ण इमानदारिता प्रेरणादायी रहने उहाँको भनाइ थियो ।
मनाङको विकासको मेरुदण्डका रूपमा रहेको पर्यटनलाई दीर्घकालीन बनाउन वैकल्पिक पदमार्गबारे बेलैमा सोच्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । त्यसका लागि उनीहरूले गण्डकी प्रदेश र सङ्घीय सरकारलाई पटक पटक गुहारेका छन् । प्रदेश सरकारको पनि दोस्रो पञ्चवर्षीय योजना (आव २०८१/८२– २०८५/८६) मा हिमाली तथा पहाडी क्षेत्रमा वैकल्पिक पदमार्ग निर्माण र चालु पदमार्गको स्तरोन्नति अन्तर्गत अन्नपूर्ण सर्किट ट्रेल तथा थोरोङ्ला पदमार्ग निर्माण आयोजनालाई राखिएको छ ।
कच्ची बाटोमा गाडी गुडिरहेको अवस्थामा दैनिक यात्रा गर्ने पर्यटकले भोगिरहेको समस्याबारे अवगत नै रहेको गण्डकी प्रदेश सभा सदस्य मुनीन्द्रजङ्ग गुरुङले बताउनुभयो । वैकल्पिक पदमार्ग र तल्लो मनाङका होटेल व्यवसाय चलायमान बनाइराख्ने चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रदेशको आगामी कार्यक्रममा मनाङको विकास, सडकको विस्तार, वैकल्पिक पदमार्गको निचोडका विषय उठाइरहेका छौँ ।” मनाङका प्रत्येक घरमा कुनै न कुनै व्यवसाय रहेकाले त्यसलाई दिगो र चलायमान बनाइराख्न पनि वैकल्पिक पदमार्ग आवश्यक भएको प्रदेश सभा सदस्य गुरुङको ठम्याइ छ ।
त्यसै गरी तिलिचो जाने मुख्य प्रवेशद्वारको मुखमा अहिले धेरै युवा व्यवसायीले होटेल खोलेका छन् । कतिपयले स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री गर्ने गर्छन् । बर्सातमा प्रायः छ महिना भने आंशिक रूपमा मात्र यहाँको पर्यटन र यस क्षेत्रसँग सम्बन्धित व्यवसाय सञ्चालन हुन्छ । यसले गर्दा दिगो रूपमा चलाउन चुनौती थपिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेल स्थानीयको चासो र आवश्यकता सडक विकासमै भएकाले माथिल्लो मनाङसम्मै सडक पुगेको बताउनुहुन्छ । अहिले सडक पुगेकै कारण पदमार्ग मेटिँदा पर्यटक धुलाम्मे बाटो हिँड्न बाध्य भइरहेका छन् । भुजेल पनि वैकल्पिक पदमार्गको आवश्यकता औँल्याउनुहुन्छ ।
बेँसीसहरभन्दा माथि तालगाउँतर्फको बाटो आंशिक वैकल्पिक भए पनि पूर्ण वैकल्पिक पदमार्ग विकासका लागि छलफल बाँकी नै छ । वैकल्पिक पदमार्ग पहिचान र निर्माणका लागि पनि विस्तृत छलफल हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायका माग र आवश्यकता अनुसार नै एक्याप अघि उहाँले बताउनुभयो ।सडक सञ्जालमा जोडिएसँगै प्राकृतिक पदमार्गमा रमाउँदै हिँड्ने पर्यटकका लागि नयाँ चुनौती थपिएका छन् । खोला, हिमाल, वनजङ्गल, चराचुरुङ्गीका आवाज, चिसो र स्वच्छ हावाको आनन्द महसुस गर्दै मनाङको अविस्मरणीय स्मृति बनाउन आइपुगेका पर्यटकलाई धुलाम्मे र व्यस्त सडकले हैरानी थपेको छ । यसले पर्यटकमा पदमार्गप्रतिको आकर्षण घटाउँदै लैजाने जोखिम पनि उत्तिकै छ ।
अहिले यहाँका किसान डोकोमा कटहर बोकेर दलदलेदेखि कावासोतीसम्म पुग्ने गरेका छन् । एक डोकोमा दुई सयसम्म भुइँकटहर बोकेर बजार खोज्न हिँड्नेहरू धेरै छन् । भुइँकटहर बेचेर दिनमै २५ देखि ३० हजार रुपियाँसम्म कमाउने गरेको भुइँकटहर बेच्न कावासोती आएका कृषक रणबहादुर मगरले बताउनुभयो । उहाँका अनसार भुइँकटहर खेती अहिले बन्दीपुर गाउँका जनताका लागि निकै राम्रो आम्दानीको स्रोत भएको छ ।