• ४ साउन २०८२, आइतबार

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

blog

दोधारा चाँदनी (कञ्चनपुर),  साउन ४ गते । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । 

कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार  कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । 

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो । 

त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो । घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ । 

अघिल्लो आवमा एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ । “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भन्नुभयो, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।” 

कार्यालयको १३ करोड राजस्व बक्यौता रहेको छ । “भ्याटमा नौ करोड र आयकरमा चार करोड बक्यौता बाँकी छ”, उहाँले भन्नुभयो, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।” 

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताउनुभयो । “पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैँक खाता रोक्कासमेत हुनसक्छ”, उहाँले भन्नुभयो । रासस