• ५ साउन २०८२, सोमबार

विश्वेश्वर र पुष्पलालको सम्झना

blog

प्रत्येक वर्ष साउनमा अधिकांश नेपाली महिलाले महिनाभर रातो, हरियो, पहेँलो परिधान लगाउने, चुरा, पोते आदिले सुसज्जित भई व्रत बस्ने कार्य गर्छन् । पुरुषहरूले पनि आफूले अँगाल्दै आएका खराब आचरणलाई यो महिनाभर विश्राम दिने प्रचलन बढ्दै गएको छ । राजनीतिक वृत्तमा सक्रियले विशेष गरी साउनको पहिलो र दोस्रो साता नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइराला र कम्युनिस्ट आन्दोलनका प्रवर्तक पुष्पलाल श्रेष्ठलाई स्मरण गर्छन् । सर्वसाधारणका लागि यो महिना भगवान् शिवको महिना हो भने कांग्रेस र कम्युनिस्ट विचारधाराको राजनीतिक आन्दोलनमा क्रियाशीलहरूका निमित्त आआफ्ना दलका संस्थापकको स्मरण गर्ने महिना हो ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी कोइराला) र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको देहावसान चार वर्षको अन्तरमा साउन ६ गते र साउन ७ गते हुन पुगेको थियो । त्यसैले कांग्रेस र कम्युनिस्ट पार्टीले यी दुई दिनलाई आफ्ना नेताको स्मृति दिवसका रूपमा मनाउने गर्छन् । सबैले पार्टीका संस्थापकले देखाएको बाटोमा आफ्नो पार्टी अगाडि बढिरहेको र उहाँहरूको सपना पूरा गर्न आफू कटिबद्ध एवं सक्रिय भइरहेको दाबी भने गर्छन् । पार्टीका ठुला नेताको समय व्यवस्थापन गर्दै यी दुई दिनको वरपरमा मुलुकमा सयौँ कार्यक्रम आयोजना हुने गरेका छन् । स्वर्गबाट देखिने भए यी दुई दिनका कार्यक्रमले दुवै नेतालाई सन्तुष्टिको उच्चतम विन्दुमा पु¥याउने थिए ।

नेपालमा प्रजातन्त्रको बिउ रोपेको श्रेय त बिपीलाई जान्छ नै समाज विकासका लागि उहाँले पु¥याउनुभएको योगदान अविस्मरणीय छन् । हिजोआजका नेता समावेशितामा आफ्ना कारणले मुलुकले फड्को मारेको डिङ हाँक्छन् । समानता र समताका अगुवाका रूपमा दावा गर्ने नेता बग्रेल्ती भेटिन्छन् । उतिबेलै विपीले समावेशिताको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो । कांग्रेसको केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्मका पदमा दलित भनेर हेपिएको वर्गका मानिसलाई समावेश गरेको कुरा त छँदै छ, जुद्धशमशेरले छुवाछुतका मुद्दामा देश निकाला गरेका व्यक्तिलाई प्राथमिकताका साथ सम्मान गरेको व्यवहार अनुकरणीय छ । जसलाई देश निकाला गरिएको थियो, उनैका घरमा बसेर बिपीले विसं २०१५ को चुनाव लडेर जित्नु पनि भएको थियो ।

विसं २०१७ मा पुष्पलाल ३६ वर्षको मात्रै हुनुहुन्थ्यो । उतिबेलै उहाँले खोल्नुभएको सङ्घको मूल उद्देश्यमा मुलुकका विभिन्न स्थानमा विद्यालय खोली सिपमूलक तालिम दिने भनिएको थियो । धेरै पढेर र देश विदेश घुमेर आएका आधुनिक विद्वान् सिपमूलक शिक्षा नेपालमा भित्र्याएको श्रेय आफूले लिन खोज्छन् तर त्यसको पूर्वाधार पुष्पलालबाटै भएको हो । पुष्पलालमा सानै उमेरदेखि कति परिपक्वता थियो भन्ने ज्वलन्त उदाहरण यही हो ।

कांग्रेसका संस्थापक बिपीको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो भने ६७ वर्षको जीवनलीला भोगी विसं २०३९ साउन ६ गते देहत्याग गर्नुभएको थियो । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाशासनविरुद्धमा पार्टीलाई होमी देशमा प्रजातन्त्रको स्थापना गर्ने लक्ष्य बिपी कोइरालाको थियो । यही लक्ष्यका साथ सुवर्णशमशेरले स्थापना गरेको प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी यो पार्टी विसं २००६ देखि नेपाली कांग्रेसका नामले नेपाली राजनीतिमा सक्रिय हुँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्म विसं १९८१ असार १४ गते रामेछापमा भएको थियो भने विसं २०३५ साउन ७ गते उहाँ दिवङ्गत हुनुभएको थियो । जम्मा ५४ वर्षको छोटो आयु बाँचेका भए पनि पुष्पलालले मुलुकलाई कम्युनिस्ट वैचारिक धार दिएर जानुभयो भने कम्युनिस्ट राजनीतिका नेता तथा कार्यकर्ताले पालना गर्नुपर्ने आचरणको दिग्दर्शनसमेत गर्नुभयो । सन् १९४९ देखि १९५४ सम्म नेकपाका महासचिव रहनुभएका पुष्पलाल नेपालका सहिद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ । सहिद गङ्गालाललाई तत्कालीन राणाशासकले गोली ठोक्नु अघिल्लो दिन सपरिवार उहाँलाई भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई भन्नुभएको थियो– माइला, मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस् । यही वचन नै पुष्पलाललाई राजनीतिमा होमिनका लागि प्रेरणादायी वचन बनेको थियो ।

बिपीले कांग्रेसमार्फत प्रजातान्त्रिक योद्धालाई सङ्गठित गर्ने काम गर्नुभयो । भारतमै बसेर भए पनि नेपालमा प्रजातन्त्रको महिमा वृद्धिमा सक्रिय हुँदै कांग्रेसका साथै प्रजातान्त्रिक धारलाई सङ्गठित र सुदृढ गर्ने काम भयो । जनताको अपार समर्थन पाउने निश्चित भएपछि कांग्रेसले राणाका विरुद्धमा धावा बोल्यो । शान्तिपूर्णदेखि सशस्त्र आन्दोलनसम्मको नेतृत्व कांग्रेसले ग¥यो । यही आन्दोलनले सफलता पाउँदा नेपालमा विसं २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रादुर्भाव भयो र त्यसैको आलोकमा विसं २०४६ र विसं २०६२–६३ का जनआन्दोलन सफल भए । फलस्वरूप वर्तमानका नेपाली नागरिक गणतन्त्रको उपभोग गर्दै स्वतन्त्रतासहितको जीवनयापन गर्न पाइरहेका छन् ।

उता पुष्पलाल भने राजनीतिको प्रथम चरणमा प्रजातान्त्रिक विचारधारामै समाहित हुनुहुन्थ्यो । दाजुको हत्या राणाहरूबाट गरिएपछि भारतमा निर्वासित जीवन बिताउँदै आउनुभएको थियो । भारतमै रहेका बेला प्रारम्भमा विसं १९९८ मा प्रेमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज, राजाराम आदिहरूसँग मिलेर पुष्पलालले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो । यसका सदस्यले रगतले प्रतिज्ञापत्रमा सहीछाप गरी पार्टीमा सक्रिय हुने नियम बनाइएको थियो । यसका उद्देश्यमा राणाशासनको विरोध गर्ने, नेपालमा विद्यालय स्थापना गर्ने र ती विद्यालयमा सिपमूलक तालिम प्रदान गर्ने जस्ता विषय समावेश गरिएका थिए ।

भारत निर्वासनमा रहेका बेला भारतीय कम्युनिस्ट नेताहरूको सङ्गत र व्यवहारबाट प्रभावित भई कम्युनिस्ट आन्दोलनमा होमिनु भएको थियो । पुष्पलालले माक्र्सवाद र लेलिनवादबाट प्रभावित भई प्रजातान्त्रिक विचारधारा छोड्न पुग्नुभयो र विसं २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । त्यही नेकपाका नेतृत्वगणमा वैचारिक बेमेल, व्यक्तिगत स्वार्थमा वृद्धि र पार्टीको नेतृत्व आफ्नै हुनुपर्ने जस्ता महìवाकाङ्क्षा बढ्दै जाँदा अहिले नेपालमा दर्जनौँ कम्युनिस्ट पार्टी जन्मिएका छन् । माओवादी जस्ता केही अतिवादीबाहेकका यी सबै कम्युनिस्ट पार्टीले आदर्श गुरुका रूपमा पुष्पलाललाई मान्दै आएका छन् ।

अध्यात्ममा हाम्रो अटल एवं अटुट विश्वास छ । मान्छेको शरीर मरेर गए पनि आत्मा मर्दैन र मरेका मान्छेका आत्माले समेत माथिबाट हाम्रा क्रियाकलापमा दृष्टि पु¥याइरहेका हुन्छन् भन्ने मान्यता छ । हामीले राम्रा र असल कर्म ग¥यौँ भने पितृहरूको आशीर्वाद प्राप्त हुने भएकाले हाम्रा पाइला सदैव सफलताको बाटोमा अग्रसर भइरहन्छन् भन्ने ठान्ने गरिएको छ । हामी कुकर्मतिर प्रवृत्त हुँदै गएमा पितृहरूले श्रापै नदिए पनि उनीहरूको शुभेच्छा प्राप्त नहुने भएकाले हामीले यो लोक र परलोक दुवैमा आफ्नो स्थान बिगारेको भन्ने ठानिन्छ । के आजका नेताहरूले बिपी र पुष्पलालको आशीर्वाद पाइरहेका होलान् त ? बिपी र पुष्पलालका आत्मालाई उनीहरूले खोलेका पार्टीका नेताका कर्मले शान्ति प्रदान गरिरहेका छन् त ? आजको सन्दर्भमा मूलप्रश्न नै यिनै हुन् ।

बिपीले १५ वर्षमा प्रधानमन्त्रीको जीवनस्तरमा हरेक नेपालीलाई पु¥याउने घोषणा गर्नुभएको थियो । सबै नेपालीलाई भय र गरिबीबाट मुक्त बनाउने उहाँको सङ्कल्प थियो । बिपीको प्रधानमन्त्रीत्वकालमा यसैका लागि भूमिसुधार कडाइका साथ लागु गरिएको थियो । वनजङ्गललाई राष्ट्रियकरण गरिएको थियो । ठुलादेखि सानासम्मका उद्योग स्थापनामा जोड दिइएको थियो । मुलुकलाई विद्युतीकरण गर्न विशेष योजनाको खाका तयार पारिएको थियो । सडक, सञ्चार, यातायात, विश्वविद्यालय, विद्यालय आदिका स्थापना र सञ्चालनका आरम्भदेखि योजना निर्माणसम्म छोटो समयमै सम्पन्न भएका थिए ।

बिपी नेपालको २२ औँ प्रधानमन्त्री बन्नुभयो भने पुष्पलाललाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएन । विसं २०१६ जेठ १३ गतेदेखि २०१७ पुस १ गतेसम्मको छोटो अवधिको बिपीको प्रधानमन्त्रीकालमा जति काम अरू कसैका पालामा हुन नसकेको सबैले भन्दै आएका छन् । मैले यति काम गर्थें तर समय पाइन भन्ने वर्तमानका नेतागणलाई बिपीले पाठ पढाएर जानुभएको छ । देश र जनताका पक्षमा काम गर्ने हो भने इतिहासमा आफ्नो नाम स्वर्णाक्षरले लेख्न धरै लामो समय र धेरै पटक प्रधानमन्त्री भइरहन पर्दैन भन्ने उदाहरण बिपीले प्रस्तुत गर्नुभएको छ । 

बिपी र पुष्पलाल दुवैले राणाकाल र पञ्चायतकालमा आफ्नो जीवन व्यतीत गर्नुभयो । दुवै नेताको जीवन सङ्घर्षमै बित्यो, जेल र निर्वासनमै लामो समय बिताउन प¥यो । यद्यपि मुलुकका लागि राष्ट्रिय मेलमिलापको नीति ल्याउन परे पनि पछि पर्न हुँदैन भन्ने सन्देश बिपीले दिएर जानुभयो । देशबाट पञ्चायत फाल्न कांग्रेस र कम्युनिस्ट मिल्नु पर्छ भन्ने प्रस्ताव पुष्पलालको थियो । आखिरमा कांग्रेस र कम्युनिस्टकै एकताबाट विसं २०४६ मा पञ्चायतको अन्त्य भई प्रजातन्त्रको पुनर्बहाली हुन पुगेको थियो । कांग्रेस र कम्युनिस्ट मिल्ने भनेको व्यवस्था परिवर्तनका लागि मात्रै होइन, अवस्था परिवर्तनका लागि पनि हो । अहिले कांग्रेस र कम्युनिस्ट मिल्न त मिलेका छन् तर जनताको अवस्था परिवर्तन हुन सकेको छ कि छैन भन्ने अहम् प्रश्न हो । 

सारांशमा भन्नुपर्दा दुई दिन मात्रै बिपी र पुष्पलालको पूजा गरेर मात्रै पुग्दैन । यस्ता प्रकृतिका पूजाले आडम्बर मात्रै झल्काउँछ । साँच्चैको पूजा गर्ने हो भने उहाँहरूको सोचलाई पूरा गर्नेतर्फ लोकतान्त्रिक सरकार अग्रसर हुनु पर्छ । भ्रष्टाचारीविहीन, जनउत्तरदायी एवं राष्ट्रियता, समाजवाद र लोकतन्त्र भनौँ या समृद्ध नागरिक, समुन्नत नेपालका लागि सक्रिय सरकारबाट मात्रै जनताका चाहना पूरा हुन्छन् । यसो भएमा मात्रै कांग्रेस र कम्युनिस्ट पार्टीका संस्थापकको आत्माले शान्ति पाउने छ ।