शिक्षा पाठ्यक्रममा मात्र सीमित छैन; यो शिक्षक, विद्यार्थी र अभिभावकबिचको साझा यात्रा हो । विद्यालयमा शिक्षकले ज्ञान रोप्छन् भने घरमा अभिभावकले त्यसको सिँचाइ गरी जीवनोपयोगी बनाउने जिम्मेवारी लिन्छन् । विद्यालय मात्र होइन, घर पनि सिकाइको महत्वपूर्ण केन्द्र हो । ‘अभिभावक शिक्षा’ वैकल्पिक होइन, समग्र शैक्षिक विकासको आधार स्तम्भ हो । सशक्त अभिभावक नै सशक्त विद्यार्थी र गुणस्तरीय शिक्षाको आधार हुन् । अभिभावक शिक्षालाई विकल्पमा होइन, अपरिहार्य नीतिको रूपमा अघि बढाउनु आवश्यक छ ।
अभिभावक शिक्षा भनेको सन्तानको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र नैतिक विकासमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सिप, दृष्टिकोण र व्यवहार सिकाउने प्रक्रिया हो । यसले अभिभावकलाई बाल विकास, सिकाइका प्रवृत्ति, अनुशासन, बालमनोविज्ञान र सकारात्मक पालनपोषणका अवधारणासँग परिचित गराउँछ; जसबाट उनीहरू सचेत, सक्षम र उत्तरदायी बन्न सक्छन् । शिक्षा विद्यालय परिसरभित्र मात्र सीमित छैन, न त यो शिक्षक र विद्यार्थीबिचको एकतर्फी प्रक्रिया हो । बालबालिकाको समग्र विकास, व्यावहारिक शिष्टाचार, अनुशासन तथा अध्ययनप्रति अभिरुचि अभिवृद्धि गर्न अभिभावकको भूमिका महìवपूर्ण हुन्छ । शिक्षा सहयात्राको यो संवेदनशील तथा जिम्मेवार पक्षलाई बुझ्ने र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने चेतनाको विकास नै गुणस्तरीय शिक्षाको आधार बन्न सक्छ ।
२१ औँ शताब्दीको शिक्षा
२१ औँ शताब्दीको शिक्षा परम्परागत पाठ्यपुस्तक केन्द्रित शिक्षाभन्दा धेरै फरक, समावेशी, नवप्रवर्तनशील र व्यावहारिक हुनु पर्छ । विश्व तीव्र गतिमा परिवर्तन हुँदै छ । प्रविधि, सूचना, सञ्चार, जलवायु, रोजगारीका स्वरूप तथा सामाजिक संरचनामा आमूल परिवर्तन आइसकेका छन् । आजको शिक्षा प्रणाली यस्तो हुनु पर्छ जसले विद्यार्थीलाई जान्ने, सोच्ने, सिर्जना गर्ने तथा जिम्मेवार नागरिक बन्न सक्षम बनाओस् । यो प्रणाली स्थानीय सन्दर्भमा आधारित तर वैश्विक सन्दर्भमा सुसज्जित, सिपमूलक, सृजनशील तथा सहकार्यमा आधारित हुनु पर्छ । भविष्यका अनिश्चितता तथा चुनौतीको सामना गर्न सक्ने सक्षम पुस्ता निर्माण गर्नु आधुनिक शिक्षाको प्रमुख लक्ष्य हुनु पर्छ । शिक्षामा अभिभावकको सक्रिय सहभागिता अपरिहार्य छ । घर तथा विद्यालयको सहकार्यबाट मात्र विद्यार्थीको समग्र विकास सम्भव हुन्छ । शिक्षालाई केवल विद्यालयको दायित्व ठान्नु हुँदैन; यो परिवार, समाज तथा राष्ट्र सबैको साझा उत्तरदायित्व हो ।
अभिभावक शिक्षाको आवश्यकता
आमाबुबा, हजुरआमा–हजुरबुबा, दाजुभाइ–दिदीबहिनी तथा अन्य स्याहारकर्ता सबै अभिभावक हुन् । बालबालिकाको मानसिक, शारीरिक, भावनात्मक तथा सामाजिक विकासमा उनीहरूको भूमिका महìवपूर्ण हुन्छ । घरमै सिकाइने व्यवहार, मूल्य तथा संस्कारले बालबालिकाको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ । बालबालिकाको प्रभावकारी सिकाइका लागि विद्यालय, शिक्षक र अभिभावकबिचको बलियो समन्वय आवश्यक हुन्छ ।
पढाइप्रतिको दृष्टिकोण, समय व्यवस्थापन तथा व्यावहारिक अनुशासनको विकासमा घरको वातावरण निर्णायक हुन्छ । यसका लागि अभिभावकलाई बाल मनोविज्ञान तथा सकारात्मक अनुशासनका आधारभूत ज्ञान आवश्यक हुन्छ । डिजिटल युगमा प्रविधिको सदुपयोग तथा सम्भावित जोखिमबारे जानकारी नहुँदा बालबालिका गलत दिशातर्फ आकर्षित हुन सक्छन् । अभिभावक शिक्षाले डिजिटल सुरक्षाबारे चेतना प्रदान गर्छ । यसै माध्यमबाट अभिभावकलाई बाल अधिकार, कानुनी व्यवस्था तथा सुरक्षाका उपायको जानकारी दिन सकिन्छ । बालबालिकासँग संवाद गर्ने तरिका, प्रेरणा दिने शैली तथा दण्डभन्दा प्रेम र समझदारीमा आधारित अनुशासन निर्माणका लागि अभिभावक शिक्षाले मार्गदर्शन गर्छ ।
अभिभावक शिक्षा कुनै वैकल्पिक उपाय होइन; यो गुणस्तरीय शिक्षाको अपरिहार्य अङ्ग हो । सचेत, जानकार तथा जिम्मेवार अभिभावक नै सशक्त शिक्षाको बलियो आधार हुन् ।
सिकाइमा अभिभावक
बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका अतुलनीय हुन्छ । घरमै सिकाइने भाषा, व्यवहार, मूल्य र संस्कारले बालकको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ । घर नै पहिलो विद्यालय हो, अभिभावक पहिलो शिक्षक हुन् । ज्ञान विद्यालयबाट प्राप्त हुन्छ तर इमानदारी, करुणा, धैर्यता, कर्तव्यबोध जस्ता जीवन मूल्य अभिभावकबाट सिकिन्छन् । बालकको पढाइ, अनुशासन तथा प्रगति सुनिश्चित गर्न अभिभावकले घरमा अनुकूल वातावरण बनाउनुका साथै विद्यालयसँग सहकार्य गर्नु पर्छ । सन्तानको अध्ययन रुचि, बानी तथा दृष्टिकोण विकासमा अभिभावकले सह–शिक्षकको भूमिका खेल्छन् । तिनको सक्रिय सहभागिताबिना विद्यालय मात्रले पूर्ण शिक्षा दिन सक्दैन ।
अन्तर्राष्ट्रिय अभ्यास
विश्वका शिक्षामा अग्रणी राष्ट्रहरूले अभिभावकलाई शिक्षा प्रणालीको केन्द्रमा राख्ने परिपाटी विकास गरिसकेका छन् । तिनीहरूले अभिभावकलाई केवल बालबालिका पढाउने व्यक्ति नभई सहशिक्षक, मार्गदर्शक र साझेदारका रूपमा परिभाषित गर्ने नीति अपनाएका छन् । नेपालले यी अन्तर्राष्ट्रिय अभ्याससँग सिक्दै आफ्नै सामाजिक, सांस्कृतिक तथा शैक्षिक सन्दर्भ समावेश गरी अभिभावक शिक्षाको परिष्कृत मोडेल विकास गर्नु आवश्यक छ ।
फिनल्यान्ड, विश्वकै उत्कृष्ट शिक्षा प्रणालीको उदाहरण, साझेदारीमा आधारित शिक्षालाई उच्च प्राथमिकता दिन्छ । विद्यालय, शिक्षक तथा अभिभावकबिच सुदृढ सहकार्य सुनिश्चित गर्न ‘अभिभावक शिक्षा साँझ’ आयोजना गरिन्छ जहाँ पाठ्यक्रम, प्रविधिको प्रयोग, मनोवैज्ञानिक पक्ष तथा सामाजिक व्यवहारबारे प्रशिक्षण दिइन्छ । शिक्षक र अभिभावकबिच नियमित संवाद सरकारी नीति अनुसार अनिवार्य व्यवस्था गरिएको छ ।
अस्ट्रेलियामा सन् २०१२ बाट लागु गरिएको ‘प्यारेन्ट्स एज पार्टनर्स’ कार्यक्रमले अभिभावकलाई बालबालिकाको सिकाइमा प्रत्यक्ष संलग्न गराउने लक्ष्य राखेको छ । यो कार्यक्रम विशेष गरी निम्न आय वर्ग तथा बहुभाषिक समुदायका लागि प्रभावकारी छ । विद्यालयहरूमा ‘अभिभावक शिक्षा केन्द्र’ स्थापना गरी प्रविधि, स्वास्थ्य, मनोविज्ञान तथा सामाजिक सिपबारे नियमित सत्र सञ्चालन गरिन्छ । शिक्षा मन्त्रालयले ‘अभिभावक उपकरण सामग्री’ नामक निःशुल्क मार्गदर्शन सामग्री उपलब्ध गराएको छ ।
नेपालमा अभिभावक शिक्षा
नेपालको शिक्षा प्रणाली दशकौँयता रूपान्तरणको चरणमा छ । नयाँ पाठ्यक्रम, बालमैत्री सिकाइ, समावेशी शिक्षा तथा प्रविधिमा आधारित शिक्षण–सिकाइको अभ्यास क्रमशः विस्तार हुँदै छ । यिनै परिवर्तनलाई सघाउनुपर्ने अभिभावक अझै परम्परागत सोच, सीमित पहुँच तथा न्यून सहभागितामा सीमित छन् । विद्यालयसम्म पुग्ने बाटो देखाइदिए पुग्छ भन्ने पुरानो अवधारणाले अझै धेरै अभिभावकको मानसिकता निर्देशित गरेको छ । यस्तो पृष्ठभूमिमा अभिभावक शिक्षाको आवश्यकता महत्वपूर्ण रूपमा देखा परेको छ ।
काठमाडौँको एक निजी विद्यालयमा अध्ययनरत कक्षा ५ का छात्रका अभिभावक हरेक महिनाको अभिभावक–शिक्षक बैठकमा सहभागी भए पनि छोराको व्यवहार परिवर्तन, पढाइमा ध्यान नलाग्ने, तथा मोबाइलप्रतिको बढ्दो आकर्षण जस्ता विषयलाई केटाकेटीको स्वाभाविक अवस्था भन्दै बेवास्ता गर्छन् । सक्रियता भए पनि सजगताको अभाव स्पष्ट देखिन्छ ।
गोरखाको एक सामुदायिक विद्यालयले केही वर्षअघि स्थानीय तहको सहयोगमा अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा मोबाइल कहिले दिने, विद्यालयबाहेक कहाँ जान दिने, तथा यौनिक हिंसाबाट बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा गहन छलफल भएको थियो । अभिभावकहरूले पहिलो पटक यस्ता संवेदनशील विषय संस्थागत रूपमा सुनेका थिए । तर कार्यक्रम एक पटकमै समाप्त भयो । चासो र चाहना त छ तर संरचना र व्यवस्थापनको अभावले निरन्तरता दिइएन ।
सहरका केही अभिभावक स्नातक वा स्नातकोत्तर स्तरसम्म शिक्षित छन् । जब बाल अधिकार, साइबर सुरक्षा वा व्यवहारको महत्वबारे संवाद गरिन्छ, तिनीहरू मौन हुने प्रवृत्ति देखिन्छ । यसले स्पष्ट पार्छ शैक्षिक योग्यता र सचेत अभिभावक हुनु एउटै कुरा होइन । यसका लागि छुट्टैै किसिमको शिक्षण प्रव्रिmया आवश्यक छ, जुन अभिभावक शिक्षामार्फत सम्भव हुन्छ ।
शिक्षा मन्त्रालयद्वारा प्रकाशित शिक्षा नीतिमा ‘अभिभावकको सहभागिता’ भन्ने उल्लेख पाइन्छ, व्यवहारमा यो कार्यक्रमको रूपमा संस्थागत रूपमा विस्तारित भएको देखिँदैन । ‘विद्यालय सुधार योजना’ अन्तर्गत अभिभावक समितिको संरचना भए पनि तिनलाई अभिमुखीकरण गर्ने तथा संवेदनशील विषयमा जानकारी दिन आवश्यक संरचना अझै स्पष्ट छैन ।
नेपालमा अभिभावक शिक्षाको अवस्था चुनौतीपूर्ण भए पनि समाधानका सम्भावना प्रशस्त छन् । सङ्घीय संरचनाको पृष्ठभूमिमा पालिका विद्यालयसँग प्रत्यक्ष सम्बन्धित भएकाले अभिभावक शिक्षालाई वार्षिक योजनामा समावेश गरी सामुदायिक स्थायित्व दिन सकिन्छ ।
शिक्षक–अभिभावक सङ्घ (पिटिए) को प्रभावकारिता
नेपालमा विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ प्रवर्धन, तथा समग्र शैक्षिक वातावरण सशक्त बनाउन शिक्षक–अभिभावक सङ्घ (पिटिए) एक महìवपूर्ण संरचना हो । व्यवहारमा यसको भूमिका प्रायः औपचारिकता र न्यून सक्रियतामा सीमित राखिएको छ । स्पष्ट उद्देश्य र भूमिकाको परिभाषा पिटिएको उद्देश्य, भूमिका, अधिकार तथा जिम्मेवारी विद्यालय नीति र व्यवस्थापन समितिका नियमहरूसँग समन्वय गर्दै स्पष्ट रूपमा परिभाषित गर्न आवश्यक छ । पिटिए नीतिगत सल्लाह, सिकाइ अनुगमन तथा बाल–अधिकार प्रवर्धनमा केन्द्रित रहनु पर्छ ।
विद्यालयले शिक्षा गुणस्तर, अनुशासन, उपस्थिति, शिक्षक व्यवहार तथा पाठ्यपुस्तक अभाव जस्ता विषयमा पिटिएसँग नियमित संवाद गरिनु आवश्यक छ । व्यवस्थित अभिलेखीकरणले उत्तरदायित्व सुनिश्चित गर्छ । आधारभूत अभिमुखीकरण प्रशिक्षणः पिटिएसँग सम्बद्ध सदस्यहरूलाई विद्यालय प्रशासन, बाल मनोविज्ञान, शिक्षा नीति, बाल अधिकार तथा लैङ्गिक समानताबारे आधारभूत अभिमुखीकरण प्रदान गरिनु पर्छ । सशक्त अभिभावकले मात्र प्रभावकारी संवाद गर्न सक्छन् । स्थानीय तहको साझेदारी र सहजीकरणः स्थानीय तहले पिटिएलाई विद्यालय अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा साझेदार बनाउन सक्ने नीतिगत प्रबन्ध गर्नु पर्छ । पिटिए सशक्तीकरणका लागि तालिम, बजेट तथा सहजीकरण कार्यक्रम स्थानीय तहबाट सञ्चालन गरिनु आवश्यक छ । सक्षम, प्रभावकारी तथा स्वायत्त पिटिए नै गुणस्तरीय शिक्षाको आधारस्तम्भ बन्न सक्छ ।
निष्कर्ष
नेपालमा शिक्षक–अभिभावक सङ्घ (पिटिए) कुनै औपचारिक वा आलङ्कारिक संरचना मात्र होइन, शिक्षा सुधारको सक्षम साझेदार संस्थाको रूपमा पुनर्संरचना गरिनु अनिवार्य छ । सक्षम नेतृत्व, पारदर्शी कार्यप्रणाली, नियमित तालिम तथा स्पष्ट नीतिगत ढाँचामार्फत पिटिएले विद्यालयको गुणस्तर सुधारमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्न सक्छ । अभिभावक शिक्षा कुनै वैकल्पिक अभ्यास होइन; यो आजको जटिल सामाजिक संरचनामा बालबालिकाको समग्र विकासका लागि अत्यावश्यक र प्रभावकारी उपकरण हो । शिक्षालयमा सीमित सिकाइलाई घरसम्म विस्तार गर्न, सकारात्मक अनुशासन, भावनात्मक समझदारी तथा पाठ्य सहयोगमार्फत सिकाइ प्रक्रियालाई सशक्त बनाउन अभिभावकको भूमिका अतुलनीय छ ।
नेपालमा अभिभावक शिक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्य प्राप्त गर्न स्थानीय सरकार, विद्यालय तथा समुदायबिच सशक्त सहकार्य आवश्यक छ । विद्यालयहरूले अभिभावकलाई सहयात्रीका रूपमा समेट्ने नीति अपनाउनु पर्छ; राज्यले यस विषयलाई शिक्षा नीतिमा समावेश गरी दीर्घकालीन रणनीति निर्माण गर्नु पर्छ ।
शिक्षक, विद्यार्थी र अभिभावकबिचको त्रिकोण सन्तुलित, समर्पित तथा सहकार्ययुक्त हुँदा मात्र गुणस्तरीय, समावेशी तथा बालमैत्री शिक्षा प्रणाली निर्माण सम्भव हुन्छ । अन्ततः, सशक्त राष्ट्र निर्माणको आधार सचेत, सक्षम र शिक्षित अभिभावक हुन् । अभिभावक शिक्षामा दीर्घकालीन लगानीले नेपालको शिक्षा प्रणालीलाई पुनः परिभाषित गर्दै समग्र सुधारमा गहिरो टेवा पु¥याउन सक्छ ।