गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । सर्लाहीको गोडैतामा जन्मिनुभएका रोशन दासले बाल्यकालदेखि नै सङ्गीत र चलचित्रप्रतिको मोह देखाउँदै आउनुभएको थियो । उहाँले बुवाको फोनको क्यामरामा वरपरका दृश्य कैद गर्दै कथावाचनको सुरुवात गर्नुभएको थियो । किशोरावस्थामै युट्युब च्यानलमार्फत छोटा चलचित्र र म्युजिक भिडियो सार्वजनिक गर्दा उहाँको मौलिकता र कथावाचनशैलीले दर्शकको ध्यान तान्यो । यसै क्रममा विभिन्न नवप्रतिभासँग सहकार्य गर्ने अवसर पाएर उहाँले आफ्नो क्षितिज फराकिलो बनाउँदै लग्नुभयो ।
१८ वर्षको उमेरमै पहिलो म्युजिक भिडियो निर्देशन गर्नुभएका रोशनले अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियो तथा १५ छोटा चलचित्र निर्देशन गरिसक्नुभएको छ । ‘यही हो माया’, ‘तिमीले के गर्छौ’, ‘भूल भयो’, ‘बैँसको प्यास’ र ‘नयाँ इतिहास’ जस्ता चर्चित गीतमा उहाँको निर्देशन तथा गीत लेखन रहेको छ । मैथिली गीतमा समेत काम गर्नुभएका रोशनले वेभ सिरिज र टेलिफिल्ममा पनि काम गर्नुभएको छ ।
रोशनले आफ्नो सिर्जनात्मक यात्रामा विभिन्न प्रतिष्ठित अवार्ड जित्नुभयो । उहाँले २०८१ सालमा ‘एपिक म्युजिक अवार्ड’ अन्तर्गत ‘बेस्ट म्युजिक भिडियो डाइरेक्टर’ को उपाधि गीत ‘आदत’ निर्देशन गरेर प्राप्त गर्नुभएको थियो । यसअघि २०८० सालमा ‘ज्योति म्युजिक अवार्ड’ मा पनि उत्कृष्ट ‘म्युजिक भिडियो डाइरेक्टर’ कै अवार्ड गीत ‘रङ कडा’ बाट उहाँ सम्मानित हुनुभएको थियो ।
आफ्नो प्रारम्भिक करियरमै रोशनले नेपालको सामाजिक समस्यालाई उजागर गर्ने उद्देश्यले वेभ सिरिज ‘आरती’ निर्देशन गर्नुभयो । सन् २०२४ मा सार्वजनिक भएको यो सिरिजले नेपाली समाजमा महिलामाथि हुने हिंसा, लैङ्गिक विभेद तथा मानव बेचबिखन जस्ता संवेदनशील विषयलाई उठान गरेको छ । सिरिजले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो र रोशनको सामाजिक दृष्टिकोणलाई थप बलियो बनायो ।
हाल रोशन मधेशको मौलिक संस्कृति, परम्परा र परिवेशमा आधारित चलचित्र ‘प्रतिवैरम्’ निर्माण तथा निर्देशनमा व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “सामाचकेवा पर्वलाई केन्द्रमा राखेर मधेशको समाज, संस्कृति र समस्या उजागर गर्ने प्रयास गरिएको गरेको छु । चलचित्रमा सामाजिकसँगै राजनीतिक विषयवस्तु पनि समेटिएको छ । रोशनको अनुसार मधेशबारे बन्ने चलचित्रमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै पाइँदैन । प्रतिवैरम्मा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ ।”
रोशन दासको ‘प्रतिवैरम्’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी छ । मधेशको वास्तविक सौन्दर्य, संस्कृति र समस्यालाई पर्दामा उतार्ने उनको प्रयासले नेपाली सिनेजगत्मा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।