गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । नेपाल पर्यटन बोर्डले भारतमा बोर्डको स्थायी कार्यालय खोलेर नेपालको पर्यटन प्रवर्धन गर्ने भएको छ । बोर्डले नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठुलो पर्यटक स्रोत बजार भारत रहेकाले दिल्लीमा स्थायी कार्यालय खोलेर पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाउने तयारी गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा खर्च गर्ने जनाउँदै बोर्डले अन्तर्राष्ट्रिय बजार प्रवर्धनमार्फत नेपाललाई सुरक्षित, भरपर्दो र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थायी कार्यालय खोल्न लागेको जनाएको छ । बोर्डले चालु आवका लागि झन्डै एक अर्ब ६० करोड रुपियाँ बराबरको बजेट ल्याएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “भारत पहिलो पर्यटन स्रोत बजार हो । सन् २०२४ मा भारतबाट चार लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतको विशाल पर्यटकीय बजारलाई आकर्षित गर्न विश्वका पर्यटन व्यवसायी भारतकेन्द्रित रहेकाले भारतमा कार्यालय स्थापना गरेर पर्यटन प्रवर्धन गतिविधि बढाइने छ ।” बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अस्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का मलेसिया, थाइल्यान्ड र युरोपका विभिन्न देशमा समेत प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । चालु आवमा कम्तीमा १५ प्रतिशतले पर्यटक आगमन बढाउने लक्ष्यसहित बोर्डले विश्वका प्रमुख पर्यटन मेलामा सहभागिता, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य, ट्राभल भ्लगर र मिडिया फ्याम टुर जस्ता कार्यक्रमलाई समेत निरन्तरता दिइने उहाँको भनाइ छ ।