• ४ साउन २०८२, आइतबार

विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ताको जिम्मा महरालाई

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिनुभएको छ । अध्यक्ष प्रचण्डले महरालाई केही समयअघि आफ्नै निवास खुमलटार बोलाएर विचार मिल्ने पार्टीसँग एकताका लागि संवाद थाल्न आग्रह गर्नुभएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष महराले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी, धमेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दलसँग संवाद थाल्न निर्देशन आएको जानकारी दिनुभयो । 

अहिलेसम्म यादव नेतृत्वको नेसपाले मात्रै माओवादीको महाधिवेशनसम्ममा एकता गर्ने समझदारी गरेको छ । पहिलो चरणमा पूर्वमाओवादी घटकसँग एकता गर्न संवाद र छलफल गर्ने नेताहरूले बताएका छन् । 

त्यसपछि मात्रै समाजवादी मोर्चामा आबद्ध रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत दलसँग सहकार्यका विषयमा छलफल हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग तत्काल एकता गर्ने अवस्था नरहेको प्रचण्डले यसअघि नै प्रस्ट पारिसक्नुभएको छ ।