बोमलाल गिरी
नवलपुर, साउन २ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१ को विकास चोकको एक घरमा हतियार देखाएर लुटपाट भएको छ । घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसेर पाँच तोला सुन लुटेर फरार भएका प्रहरीले जनाएको छ।
पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाँटीमा राख्दै सुनका गहना मागेका थिए । “गहना नदिए छोरा–छोरीलाईसमेत छोड्दैनौं भन्दै धम्की दिए,” पौडेलले भन्नुभयो । लुटेराहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए ।
लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुनका गरगहना लिएर भागेको पौडेलले बताएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको बताउनुभयो । “सम्भावित व्यक्तिको खोजी र अनुसन्धान सुरु गरिएको छ,” उहाँले भन्नुभयो ।
घटनाबाट त्रसित स्थानीयले रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन प्रहरीसँग माग गरेका छन् । पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा बढेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ ।