• २ साउन २०८२, शुक्रबार

तिलिचो तालमा सौर्य विद्युत्

blog

तिलिचो तालमा राखिएको सोलार प्यानल । तस्बिर : विद्युत प्राधिकरण, मनाङ वितरण केन्द्र ।

नवीनराज कुइँकेल

लमजुङ, साउन २ गते । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ । समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको तिलिचोमा नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखी विद्युत् आपूर्तिको व्यवस्था गरेको हो । 

केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो । बिजुली पुगेपछि तिलिचो पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न, इलेक्ट्रीक कित्लीमा पानी तताउन सहज भएको महतोले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युतको ग्राहक सङ्ख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।

सौर्य ऊर्जाको ब्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेकोमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको मनाङ ङिस्याङ गाउँपालिका–९, का वडाध्यक्ष च्योल्पा गुरुङले बताउनुभयो ।

‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ । विद्युतको प्रयोग गरी पानी उमाल्न थालिएको छ । जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’, बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आउनुभएका वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ । लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन साथै विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’

बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नुपर्छ । ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको विद्युत प्राधिकरणले जनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङ बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । 

खाङसारबाट तारे गुम्बा र श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदल यात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ ।