• २ साउन २०८२, शुक्रबार

विस्फोटक पदार्थको हल्ला : दिल्लीका विद्यालयमा प्रहरी तैनाथ

blog

नयाँदिल्ली, साउन २ गते ।  बमको धम्कीको सूचनापछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक  र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ । 

रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल प्राप्त भएको केही समयमै प्रहरीलाई सूचना गरेको बताउनुभएको छ ।  बम डिस्पोजल टोली र अन्य टोलीहरूको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उहाँले बताउनुभयो ।  

दिल्लीका २० भन्दा बढी विद्यालयलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीहरूले शुक्रबार बताएका हुन् । 

पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएकोे चेतावनी प्राप्त भएको केही दिनपछि प्रहरी तैथान गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो ।

प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, “हेलो, मैले विद्यालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन्, म तिमीहरू प्रत्येकलाई यस संसारबाट बिदा गर्नेछु ।” 

चेतावनीमा भनिएको छ, “त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन्, जब म यो समाचार देख्नेछु,  खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन् । यो समाचारपछि म आत्महत्या गर्नेछु ।” 

दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्मत शुक्रबार दिल्लाीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गर्नुभएको छ ।  

अधिकारीहरूका अनुसार थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, रिचमन्ड ग्लोबल स्कुल र सरदार पटेल विद्यालयमा विस्फाेटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो ।  इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।  

धम्की दिएका स्थानहरू खाली गरी  प्रहरीले बम निस्क्रिय पार्ने टोली, तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ रहेको र अहिलेसम्म कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।  

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएको छ ।   रासस /एएनआई