पुष्कर भण्डारी
डडेल्धुरा, साउन २ गते । घाँस काट्ने हसियाले श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिल गाउँका ५४ वर्षीय करन भुलले साउन १ गते बिहिबार राती ४० वर्षीय श्रीमती खिमादेवी भुलको हत्या गरी भागेका थिए ।
राती ११ बजेको समयमा श्रीमतीको हत्या गरी भागेपछि करनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान पौने ९ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले भुललाई गन्यापधुरा गाउँपालिका ३ कै गोयलबलेकबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार हँसिया प्रहारबाट श्रीमती खिमाको घटनास्थलमै मृत्यु भएको थियो । घरायसी विवादका कारण उहाँले श्रीमतीमाथि हँसिया प्रहार गरेको बुझिएको छ । करनलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।