अमरराज नहर्की
तनहुँ, साउन २ गते । ठेकेदारको ढिलासुस्तीले गर्दा गति लिन नसकेको तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधीन नमुना पशुपंक्षी अस्पताल भवनको लागि पुनः म्याद थप भएको छ ।
पहिलो पटक थपिएको म्यादमा पूरा नभएपछि पुनः म्याद थपिएको हो । तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा डेढ वर्षअघि नै सम्पन्न गर्नुपर्ने भए पनि काम अधुरै छ ।
पशुपंक्षीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले गत पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम पूरा भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । निर्धारित समयमा पूरा नभएपछि छ महिना असार मसान्तसम्मको लागि म्याद थप भएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिनुभयो ।
ठेकेदारले लापरबाहीले सुस्त गतिमा काम भइरहेकोले एक पटक म्याद थपिसक्दा पनि २५ प्रतिशत काम अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “द्रुतगतिमा काम गरेर छ महिनाभित्रै काम पूरा गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप भएको छ ।’ भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको ठेक्का तोड्ने भन्ने चेतावनी दिएपछि हाल सामान धेरै ल्याएर काम गर्न थालेको अधिकारीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको चार करोड ९० लाख ८३ हजार रुपियाँको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजना छ । साढे एक रोपनी जमिनमा बन्दै गरेको यस अस्पतालको लागि भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड रुपियाँ लाग्ने अनुमान छ ।
दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसान लाभान्वित हुनेछन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भएकोले नमुना अस्पताल बनाउन कार्य अघि बढाइएको हो ।