गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २ गते । काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।
छात्रवृत्ति परीक्षामा उत्कृष्ट भएका विद्यार्थीले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गर्न पाउने छन् । परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरपालिकाले सूचनामा जनाएको छ । यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।
छात्रवृत्ति परीक्षा महानगरपालिका आफैँले साउन ३ गते (शनिबार) बिहान सञ्चालन गर्दै छ । छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थी छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयमा अध्ययन गरेको भए सोको प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको अथवा काठमाडौँ महानगरपालिकामा स्थायी बसोवास भएको प्रमाण संलग्न नभएका एक हजार ९२ आवेदन अस्वीकृत भएका हुन् ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीमा विज्ञान समूहका लागि ११ हजार ५९०, व्यवस्थापन समूहका लागि चार हजार १६४, मानविकी समूहका लागि ३२, शिक्षा समूहका लागि ९५ र कानुन समूहका लागि २५६ जना समावेश छन् । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुने छ । जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिने छन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ ।