कविराज घिमिरे
हिले, साउन २ गते । युरोपको गाउँ बस्तीको झल्को दिने साना र सुन्दर चिटिक्क परेका घर, पोखरी तथा वरिपरिको चिया बगान, डाँडाकाँडाबाट देखिने हिमाल र मनोरम भूदृश्य तथा शान्त वातावरण । करिब दुई दशकअघिसम्म धनकुटा उत्तरपानीको यो दृश्यले सबैलाई लोभ्याउँथ्यो । धनकुटा नगरपालिका वडा नम्बर १० र पाख्रीबास नगरपालिका वडा नम्बर ९ को सिमानामा पर्ने उत्तरपानी प्राविधिक शिक्षाका लागि मात्र नभएर एक समय धनकुटाकै मुख्य पर्यटकीय गन्तव्य थियो तर आज सुनसान छ ।
२०४० सालमा ब्रिटिस सरकारले निर्माण गरिदिएको साना र सुन्दर चिटिक्क परेका घर, चियाबारी तथा पोखरी विभिन्न हिमाल र मनमोहक दृश्यमा उत्तरपानी पुग्ने सबै मोहित हुन्थे । हिले पुग्ने धेरै पर्यटक सडक कच्ची नै भए पनि उत्तरपानीसम्म पुग्थे । अहिले उत्तरपानीको अवस्था फेरिएको छ । सडक त कालोपत्रे भएको छ तर त्यहाँ पर्यटक भेट्न मुस्किल छ ।
पूर्वको व्यापारिक तथा पर्यटकीय हिलेबाट दुई किलोमिटरको दुरीमा रहे पनि यो स्थान पछिल्लो समय ओझेलमा छ । पहिले पहिले आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको भए पनि अहिले भने पर्यटकै आउन छाडेको स्थानीय श्यामबहादुर योञ्जन बताउनुहुन्छ । “पहिले देशी विदेशी मान्छे आउँथे, धेरै फिल्म सुटिङ हुन्थ्यो, सबै कुरो उत्तरपानीले गुमाएको छ,” योञ्जन भन्नुहुन्छ । उत्तरपानी धनकुटाको हिलेबाट करिब दुई किलोमिटर तथा हिलेकै पर्यटकीय स्थल बक्रकुण्ड मन्दिरबाट एक किलोमिटरको दुरीमा पर्छ । हिले तथा बक्रकुण्ड मन्दिरमा सयौँ पर्यटक पुग्ने गरेका छन् तर उत्तरपानी सुनसान हुन्छ । बव्रmकुण्ड मन्दिरबाट पूर्वाधार निर्माण गरी चिया बगानै बगान उत्तरपानी झार्ने र उत्तरपानीका पोखरी संरक्षण गर्ने हो भने उत्तरपानीको पुरानो साख फर्कने मात्र नभई धनकुटाको मुख्य पर्यटकीय गन्तव्य बन्ने स्थानीयको भनाइ छ ।
पटक पटक उत्तरपानीको पर्यटकीय विकासका लागि स्थानीय तह प्रदेश तथा सङ्घसँग कुरा राखे पनि कसैले चासो नदिएको स्थानीय जयन्द्र घिसिङ बताउनुहुन्छ । उत्तरपानीमा पानी र पोखरी संरक्षण गर्न सके एक सामान्य ताल र अन्य आठ वटा पोखरी निर्माण गर्न सकिने स्थानीयको भनाइ छ । उत्तरपानीको सुन्दरता उपयोग गरिए पनि यो जोगाउन कसैले चासो नदिएका कारण यो अवस्था आएको धनकुटा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नगेन्द्र पाण्डे बताउनुहुन्छ ।
“सुन्दर पोखरी कुनै पुरिए, कुनै सुके । त्यो बेलाको सुन्दर घर अहिले विरूप भएका छन्, डाँडा झाडीले घेरिएका छन् । हामीले ठाउँमा कुरा त राखिरहेका छौँ हामीले सक्नेसम्मको गरेका छौँ तर पूर्ण छैन,” वडाध्यक्ष पाण्डे भन्नुहुन्छ । उत्तरपानीलाई पहिलेकै अवस्थामा फर्काउन सकेको अवस्थामा यो क्षेत्रको मात्र नभई समग्र नेपालकै मुख्य पर्यटकीय गन्तव्य बन्ने उहाँको दाबी छ ।