सिराहा, असार २७ गते । सिराहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरम सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।
वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले दुई वटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ ।
स्थानीयहरु बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न सङ्घर्षरत छन् । स्थानीय लक्ष्मीनियाँ देवी राम भन्नुहुन्छ, “घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ । एक जार पानीबाट खाना पकाउने, कपडा धुने र गाईवस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ ।”
त्यस्तै, स्थानीय देवकी मोचीले भन्नुभयो, “पहिले यही ट्याङ्कीबाट पानी आउँथ्यो, तर अहिले १० दिन भयो, पानीको मात्रा घटेर गयो । थोरैथोरै आउने पानीका लागि घण्टौँ कुर्नुपर्छ ।”
त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ । उहाँहरुको भनाइ छ । “बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ । एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ । नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन् ।”
धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौं ।”
यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि सङ्घीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन् ।
धनगढीमाईका नगरप्रमुख शिवशङ्कर महतोले भरनैनी बस्तीको दीर्घकालीन खानेपानी सङ्कटबारे भन्नुभयो, “हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ । नगरपालिकाले ट्याङ्की निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ ।”
उहाँले थप्नुभयो, “पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । समस्या दीर्घकालीन भएको स्वीकार छौँ, तर हालको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ । सङ्घीय र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ ।” रासस