• २८ असार २०८२, शनिबार

पर्यटकका लागि आकर्षक रानीसैन

blog

रानीसैन घुम्न गएका आन्तरिक पर्यटक ।

बाजुरा समाचारदाता

बाजुरा, असार २७ गते । बाजुराको हिमाली गाउँपालिका–३ मा रहेको रानीसैनमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका छन् । छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाहै्र महिना चिसो हुने यो ठाउँ निकै सुन्दर र आकर्षक छ । चारैतिर अग्ला हिमाल बिचमा समथल र सुन्दरताले भरिएको यो ठाउँमा रमाउन यहाँका आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

स्वर्गको टुक्रा जस्तो देखिने रानीसैन पर्यटकका लागि निकै रमणीय ठाउँ हो तर यो ठाउँमा अहिलेसम्म प्रदेश र सङ्घ सरकारको ध्यान नपुगेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “रानीसैनको संरक्षण तथा प्रवर्धनका लागि धेरै पटक प्रदेश तथा सङ्घीय सरकारसँग बजेट माग गरेको छु तर हालसम्म कुनै सुनुवाइ भएको छैन ।” आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सके यहाँका बासिन्दाको आयआर्जनमा समेत निकै टेवा पुग्न सक्ने उहाँले बताउनुभयो । पहिला त्यहाँ जाने बाटो थिएन । बाटो नभएकै कारण यहाँ कोही आउँदैनथे । पछिल्लो समय यहाँको हिमाली गाउँपालिकाले यहाँ जाने गोरेटो बाटो निर्माण गरेसँगै अहिले यो ठाउँमा पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । 

यो रानीसैन बाजुरा, हुम्ला र बझाङको बिचमा अवस्थित छ । यहाँ प्रत्येक वर्षमा बाजुरा र हुम्लाका बौद्ध धर्मावलम्बी जम्मा हुन्छन् । यहाँ ठुलो गुम्बा पनि छ । यसको व्यवस्थापनका लागि हिमाली गाउँपालिकाले प्रत्येक वर्ष दुई लाख रुपियाँ छुट्याउने गरेको छ । वर्षको एक पटक उनीहरू यो ठाउँमा अनिवार्य जम्मा हुने गरेकाले बास बस्न र खानसमेत सहज हुने गरेर पालिकाले गुम्बालाई प्रत्येक वर्ष दुई लाख रकम छुट्याउने गरेको हो  । यो ठाउँ झन्डै चार हजार चार सयदेखि पाँच हजार मिटरको उचाइमा छ । यहाँ चारैतिर ठुला हिमाल छन् । ती हिमालको फेदीमा रानीसैन छ । यसलाई बाजुराको उपत्यका पनि भनिन्छ । चारैतिर डाँडा अर्थात् सेता हिमाल र त्यसमुनि फैलिएको रानीसैन समथल छ । प्रकृतिको अनुपम यो ठाउँ देख्दा निकै आकर्षक छ । यो ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने हो भने जसरी राराले मुगुलाई चिनाउँछ, त्यसै गरेर रानीसैनले पनि बाजुरालाई चिनाउन सक्ने रानीसैन रमाउन गएका बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय राजेन्द्र जैसीले बताउनुभयो ।