• २८ असार २०८२, शनिबार

शम्भुनाथमा कामकाज ठप्प

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), असार २७ गते । निलम्बित नगरप्रमुख जीतेन्द्रप्रसाद गुप्ता र कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीका सल्लाहकार अनिलकुमार भगतले दुव्र्यवहार गरेको भन्दै शम्भुनाथ नगरपालिकाका कर्मचारीले कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका निलम्बित नगरप्रमुख गुप्ता र सल्लाहकार भगत मो. रहमत र निर्माण व्यवसायी विजय साहले बुधबार राति कार्यालयमा काम गरिरहेका कर्मचारीलाई व्यक्तिगत लाभ लिन धाकधम्की, डरत्रास देखाई दुव्र्यवहार, गालीगलौज र हातपात गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै कारबाहीको मागसहित बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

शम्भुनाथ नगरपालिका कर्मचारी हकहित समितिका अध्यक्ष एवं योजना शाखा प्रमुख देवनाराण साहले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पाँच बँुदे ज्ञापनपत्र बुझाउँदै नगरपालिकामा सञ्चालित योजनाको भुक्तानी प्रयोजनका लागि खटिएका कर्मचारीलाई बिनाकारण दुव्र्यवहार गालिगलौज, हातपात गरी ज्यान मार्नेसम्मको धम्की दिई सरकारी कागजसमेत च्यातेकाले दोषीउपर कारबाहीको माग गर्नुभयो ।

असार २५ गते राति ८ बजेको समयमा इन्जिनियर सुनिलकुमार यादव, सबइन्जिनियर विनोद यादव, सबइन्जिनियर मनोजकुमार चौधरी, सूचना प्रविधि अधिकृत तथा जिन्सी शाखा प्रमुख मो. तमन्ना, सवारीचालक हरिप्रसाद भगतलाई दुव्र्यवहार भएको ज्ञापनपत्रमा उल्लेख छ । 

कार्यवाहक नगरप्रमुख चौधरीका सल्लाहकार भगतले कार्यालयको सरकारी गोप्य कागजात माग गर्नु साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका गोप्य कागजातको गोपनीयता भङ्ग गर्ने गरेको र कर्मचारीलाई धाकधम्की तथा गालीगलौज गरी मानसिक तनाव दिँदै आएको ज्ञापनपत्रमा उल्लेख छ । 

कार्यालयमा यस्तो घटना हुँदा पनि प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले साथ नदिएको अवस्थामा कार्यालयमा बसेर जनताको काम गर्ने वातावरण नरहेको हुँदा घटनामा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म आकस्मिक सेवाबाहेकका सबै काम ठप्प रहने योजना शाखा प्रमुख साहले जानकारी दिनुभयो । निलम्बित नगरप्रमुख गुप्ताले आफूमाथि लगाइएको आरोप झुठा रहेको बताउनुभएको छ ।