गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २७ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेतालाई गरेको निलम्बन र निष्कासनप्रति असन्तुष्टि व्यक्त भएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले बिहीबार बैठक आह्वान गरी कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय गर्नुभएको छ ।
बैठकमा कारबाही विधानविपरीत र एकातर्फी भएको निष्कर्ष निकालिएको छ । बैठकको निर्णयमा ‘सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र राजनीतिका रूपमा यसलाई सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने’ भनिएको छ ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको बताउँदै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी कारबाही गरेको दाबी गर्नुभयो । बैठकमा सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य सहभागी हुनुहुन्थ्यो ।