• १९ असार २०८२, बिहिबार

‘इच्छा शक्ति भए विकास सम्भव’

blog

छैठौं जिल्ला सभामा आफ्नो मन्तव्य राख्नु हुँदै जिल्ला समन्वय समिति रौतहटका प्रमुख राम अयोध्याय राय यादव । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा  
चन्द्रपुर (रौतहट), असार १९ गते ।
जिल्ला समन्वय समितिका रौतहटका प्रमुख राम अयोध्याय राय यादवले विकास गर्ने इच्छा शक्ति मात्र भए विकास सम्भव रहेको बताउनुभयो । रौतहट जिल्लाको छैठौं जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

जिल्लाको विकासका लागि सबै सरोकारवालाले आ–आफ्नो दायित्व पूर्ण इमान्दारीका साथ पूरा गर्न  लाग्नुपर्ने प्रमुख यादवको भनाइ छ ।  जिल्ला सभामा बोल्नुहुँदै रौतहटका प्रमुख जिल्ला अधिकारि विनोद कुमार खड्काले जिल्लामा तीनै तहले गर्ने विकास निर्माणका काममा समन्वय समितिले समन्वयकारी भूमिका खेल्नुपर्ने जिकिर गर्नुभयो ।

जिल्ला सभाको निर्णय पालना तर्फ सुरक्षा निकाय पूर्ण प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । गढिमाइ नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह तर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले पालिकामा विकास निर्माणका सवालमा जिल्ला समन्वय समिति दलगत नभएर एउटा अभिभावकको हिसाबले प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति रौतहटको सभाहलमा सम्पन्न जिल्ला सभामा जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कुल सात वटा एजेण्डा प्रस्तुत भएकोमा सबै एजेण्डा बहुमतले पारित भएको जिल्ला समन्वय अधिकारी यादवले जानकारी दिनुभयो  । छैठौं जिल्ला सभाले जिल्लास्तरीय अनुगमन तथा समन्वयसम्बन्धी कार्यविधि २०८२ बहुमतले पारित गर्दै नदिजन्य पदार्थ जिल्ला अनुगमन समितिले तयार पारेको नदिजन्य पदार्थ उत्खनन् सङ्कलन तथा बिक्री वितरण प्रकृयाको अनुगमनसम्बन्धी कार्यविधि २०८२ अनुमोदन गरेको छ । साथै १८ वटै पालिकाको सहयोगमा जिल्ला समन्वय समितिका लागि एक वटा गाडी खरिद गर्ने प्रस्ताव समेत बहुमतले पारित भएको जिल्ला समन्वय अधिकारी यादवले जानकारी दिनुभयो ।  

जिल्ला समन्वय समितिको मौजदात कोष आगामी  आर्थिक बर्ष २०८२/८३ देखि सञ्चालन गर्ने, जिल्ला समन्वय समितिलाई अख्तियारी प्राप्त बजेट शीर्षक अनुसार खर्च गर्ने, जिल्ला समन्वय समितिले अनुगमनको क्रममा अनियमित कैफियत देखेमा सम्बन्धित निकायलाई कारवाहीका लागि लेखि पठाउने लगायतका प्रस्ताव पारित भएको  जिल्ला समन्वय अधिकारी यादवले बताउनुभयोे । सभाका सचिव एवम् जिल्ला समन्वय अधिकारी  यादवका  अनुसार वर्षमा एक पटक  कानुन अनुसार जिल्ला सभा हुनुपर्नेमा तीन वर्षपछि बुधबार  जिल्ला सभा सम्पन्न भएको बताउनुभयो ।