• १२ असार २०८२, बिहिबार

मनहरीमा सडकलगायत पाँच पूर्वाधार योजना सम्पन्न

blog

मकवानपुरको मनहरी ६ मा विभिन्न योजना उद्घाटन कार्यक्रम ।

राममणि दाहाल

मकवानपुर, असार १२ गते । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ६ का विभिन्न स्थानमा पाँच वटा पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।

मनहरी ६ स्थित रमौली प्रतापपुरमा एक किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी–जोगीताल एक किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लब भवन निर्माण सम्पन्न भएको हो । 

पाँच वटै योजनाको बिहीबार एक कार्यक्रमका बिच बागमती प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले राजनीतिक रुपमा आस्था भए पनि विकास निर्माणको काममा विकासका काममा राजनीति गर्न नहुने बताउनुभयो ।

उहाँले वडा नं. ६ को विकासका लागि प्रदेश र स्थानीय तहबिच समन्वय गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने भन्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजना आवश्यक भएकोमा जोड दिनुभयो । 

मनहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष युवराज थपलियाको सभाध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी वडा नं. ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले बोल्नुभएको थियो ।