दिवाकर पोख्रेल
दाङ (देउखुरी) असार १२ गते । दाङको लमही नगरपालिका–३, कान्छीगाउँकी बेलानी चौधरी १०२ वर्ष पुग्नुभयो । जीवनभर बसोबास गरेको घरजग्गाको लालपुर्जा आफैँले नपाए पनि उहाँका चार छोरा सीताराम, ठगीराम, महावीर र सहवीर चौधरीले भने जग्गाधनी प्रमाणपुर्जा पाएका छन् ।
भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने सरकारी योजना अनुसार चौधरी परिवारले प्रमाणपत्र पाएको हो । बोल्न गाह्रो भएका बेलानीले छोराहरूले पुर्जा पाउँदा खुसी लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मेरो र छोराहरूको यहीँ बसिरहेको घरबासबाहेक अरू कुनै जमिन छैन । पहिले जिम्दारले देखाएको ठाउँमा बसेको ४५ वर्ष बितिसक्यो ।”
सोही गाउँका कल्लु चौधरी पनि ४५ वर्षअघि देखाइएको ठाउँमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “चुनाव आउँदा आजभोलि पुर्जा दिने जस्तो गर्थे र पछि बिर्सन्थे । आन्दोलन ग¥यो, धायो । केही सिप नलागेपछि आसै मरेको थियो ।”
लमहीमा पहिलो पटक २४ जना भूमिहीन सुकुमवासीले ४५ वर्षपछि बसोबासकै ठाउँको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूका अघिल्लो पुस्ताले पनि कहिल्यै पुर्जा देखेका थिएनन् । प्रमाणपत्र पाउने सीताराम चौधरीले भन्नुभयो, “हामीले जीवनमा पहिलो पटक आफ्नो नाममा लालपुर्जा देख्यौँ ।” लमही नगरपालिकाको समन्वयमा भूमि समस्या समाधान आयोगको पहलमा वडा नं. ३ कान्छी गाउँमा पहिलो चरणमा पुर्जा वितरण गरिएको हो । २४ जनालाई १३ कट्ठा साढे नौ धुर क्षेत्रफल बराबरको जग्गा वितरण गरिएको छ । प्रतिघर आठ धुरदेखि एक कट्ठासम्मको क्षेत्रफलमा जग्गा दिइएको हो ।
पुर्जा हस्तान्तरण कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बस्तीलाई लालपुर्जा दिने गरी काम भइरहेको बताउनुभयो । “दाङमा पहिलो पटक पुर्जा वितरण भएको छ । ढिलो भए पनि सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो, “अब कामलाई तीव्र बनाउन जिल्लास्तरका निकायलाई निर्देशन दिएका छौँ ।”
एक औपचारिक कार्यक्रमबिच जग्गाधनी पुर्जा वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय, जिल्ला समन्वय समिति र सहयोगी दातृ निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । आयोगलाई विभिन्न गैरसरकारी संस्थाले पनि सहकार्य गरिरहेका छन् । गढवा गाउँपालिका–२, डाँडाटोलमा १२ जनालाई पुर्जा वितरणको तयारी भइरहेको भूमि, कृषि कार्यक्रमका संयोजक तथा जिल्ला सुकुमवासी आयोगका पूर्वविज्ञ सदस्य रेवन्त चौधरीले जानकारी दिनुभयो ।
दाङमा छ हजार ४७४ भूमिहीन दलित, १० हजार ९५० सुकुमवासी र ५१ हजार ५०२ जनाले पुर्जाका लागि आवेदन दिएका छन् । देशभर ११ लाख १० हजार ९८५ रहेको भूमि क्षेत्रका क्रियाशील सङ्घ संस्थाले जानकारी दिएका छन् ।